Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

जेनजी आन्दोलनपछि राष्ट्र बैंकको कडाइ, स्थानीय तह र प्रहरीको सिफारिस नभएसम्म डढेका नोट नसाटिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगोले डढेका, च्यातिएका वा नष्ट भएका नोटहरूको सटहीमा कडाइ गरेको छ । अब ठूलो परिमाणमा यस्ता नोट साट्न जाँदा स्थानीय तह वा प्रहरीको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल का अनुसार ठूलो रकम बराबरका जलेका वा नष्ट भएका नोट सटही गर्नुअघि घटनाको स्पष्ट विवरण र आधिकारिक पुष्टि आवश्यक पर्नेछ । उनका अनुसार नोट कसरी र किन नष्ट भयो भन्ने विषयमा सम्बन्धित वडा कार्यालय वा प्रहरीबाट सिफारिस ल्याउनुपर्नेछ ।

यो व्यवस्था विशेषगरी गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि थप कडाइका साथ लागू गरिएको हो । आन्दोलनका क्रममा पुष्पकमल दाहाल र शेरबहादुर देउवा को घरबाट जलेका नोट फेला परेको चर्चा सार्वजनिक भएको थियो । साथै तत्कालीन ऊर्जामन्त्री दीपक खड्का को घरबाट पनि डढेका नोट भेटिएको बताइएको थियो ।

राष्ट्र बैंकले यस्ता नोटको स्रोत अवैध हुन सक्ने आशंकालाई ध्यानमा राख्दै अब प्रत्येक घटनालाई छुट्टाछुट्टै अध्ययन गरेर मात्रै सट्टाभर्ना प्रक्रिया अघि बढाइने जनाएको छ ।

यद्यपि सानो परिमाणमा जलेका वा च्यातिएका नोट साट्न भने पहिलेको जस्तै सहज व्यवस्था कायम रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ । प्रवक्ता पौडेलका अनुसार पूजा, दुर्घटना वा सामान्य लापरबाहीका कारण क्षति पुगेका एक–दुई हजार रुपैयाँसम्मका नोट साट्न कठिनाइ नहुनेछ ।

हाल लागू रहेको ‘नोट सट्टाभर्ना नियमावली, २०५९’ अनुसार नोटको अवस्था हेरेर पूर्ण, आंशिक वा सट्टाभर्ना नहुने निर्णय गरिन्छ । यदि नोटको ५० प्रतिशतभन्दा बढी भाग सुरक्षित रहेको र सिरियल नम्बर स्पष्ट देखिने अवस्थामा पूरा रकम पाइन्छ । आधा भाग मात्र सुरक्षित भए आधा मूल्य भुक्तानी गरिनेछ भने ५० प्रतिशतभन्दा कम भाग बाँकी रहेको वा पहिचान गर्न नसकिने नोटको सट्टाभर्ना नदिइने व्यवस्था छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट