कस्तो अवस्थामा बैंकहरुले ग्राहकबाट सेवा शुल्क लिन पाउँछन् ?
काठमाडौं । बैंकहरुले विभिन्न सेवा उपलब्ध गराएबापत ग्राहकबाट शुल्क लिन गर्छन्। तर, कस्तो अवस्थामा बैंकहरुले सेवा शुल्क लिन्छन् त भन्ने जानकारी भने ग्राहकहरुमा कमै रहेको हुन्छ।
ग्राहकको यही विषयमा जानकारी दिन नेपाल राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि चेतनामूलक सन्देश जारी गरेको हो। ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सम्पूर्ण सेवा संस्था आफैँले निर्माण गरी उपलब्ध गराउन सम्भव छैन’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसैले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई विशिष्टीकृत सेवा उपलब्ध गराउने गर्दछन्।’
यसरी अन्य संस्थाबाट प्राप्त हुने सेवा आफ्ना ग्राहकलाई उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले शुल्क लिने गर्छन्। ‘तर, बैंक तथा वित्तीय संस्थाले अन्य संस्थाबाट प्राप्त हुने सेवाको भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी नहुने गरी मात्र ग्राहकसँग सेवा शुल्क लिन सकिने व्यवस्था रहेको छ’, सूचनामा भनिएको छ।
उदाहरणका लागि ग्राहकको कर्जा सूचना लिँदा कर्जा सूचना केन्द्रले लिएबराबरको शुल्कमात्र बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिन पाउने प्रावधान रहेको छ। ‘यदि कुनै बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ’, सूचनामा भनिएको छ।
राष्ट्र बैंकका अनुसार केही आधारभूत सेवामा भने बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन नपाउने व्यवस्था रहेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया