एभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम (P2P) रेमिट्यान्स सेवाको थालनी
काठमाडौं । नेपाल र भारतबीच डिजिटल भुक्तानी तथा रेमिट्यान्स सेवामा नयाँ अध्याय सुरु भएको छ। एभरेस्ट बैंक लिमिटेडले आफ्नो ‘EBL Touch 24’ मोबाइल बैंकिङ एपमार्फत रियल–टाइम क्रस–बोर्डर (सीमापार) व्यक्ति–देखि–व्यक्ति (P2P) रकम स्थानान्तरण सेवा सञ्चालनमा ल्याएसँगै दुई देशबीचको वित्तीय कारोबार थप सहज, छिटो र प्रविधिमैत्री बनेको छ।
हालै लागू भएको नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौताअन्तर्गत सुरु गरिएको यस सेवाले दुवै देशका नागरिकलाई बैंकिङ च्यानलमार्फत तत्कालै रकम पठाउने र प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ। बैंकका अनुसार अब नेपालमा बसोबास वा रोजगारी गरिरहेका भारतीय नागरिकहरूले केही क्लिकमै भारतमा रहेका आफ्ना परिवार, आफन्त वा व्यावसायिक साझेदारलाई रकम पठाउन सक्नेछन्।
नयाँ व्यवस्थाअनुसार नेपालबाट भारततर्फ दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम १० लाख भारतीय रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सकिनेछ। त्यस्तै भारतबाट नेपालतर्फ दैनिक अधिकतम २० लाख भारतीय रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ। भारतबाट नेपाल पठाइने रकममा मासिक सीमाको व्यवस्था नरहेको जनाइएको छ।
यस सेवाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको सरलता हो। रकम पठाउन अब बैंक खाता नम्बर, आईएफएससी कोड वा अन्य जटिल विवरण आवश्यक पर्दैन। ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गरेर केही सेकेन्डमै रकम पठाउन सक्नेछन्। भारतका ग्राहकहरूले आफ्नो UPI ID मार्फत सिधै रकम प्राप्त गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।
नेपाल र भारतबीच हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको रेमिट्यान्स तथा व्यक्तिगत आर्थिक कारोबार हुने गरेको छ। विशेषगरी रोजगारी, व्यापार, शिक्षा र पारिवारिक कारणले दुई देशबीच आवतजावत गर्ने नागरिकका लागि यो सेवा निकै उपयोगी हुने अपेक्षा गरिएको छ। बैंकिङ प्रक्रियालाई सरल बनाउँदै सीमापार कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने दिशामा यो सेवा महत्वपूर्ण उपलब्धि मानिएको छ।
एभरेस्ट बैंकका अनुसार यस सेवाले ग्राहकलाई छिटो र सुरक्षित कारोबारको सुविधा दिनुका साथै औपचारिक बैंकिङ प्रणालीलाई बलियो बनाउनेछ। यसबाट हुन्डी लगायतका अवैध माध्यममार्फत हुने रकम कारोबारलाई निरुत्साहित गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ।
डिजिटल बैंकिङको विस्तारसँगै नेपाल–भारत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन र सीमापार वित्तीय पहुँचलाई सहज बनाउन यो सेवा कोशेढुंगा सावित हुन सक्ने बैंकको अपेक्षा छ। बैंकले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र प्रविधिको विकासअनुसार थप नवीन डिजिटल सेवा ल्याउने प्रतिबद्धता जनाएको छ।
सेवासम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकहरूले एभरेस्ट बैंकको आधिकारिक वेबसाइट तथा देशभर रहेका शाखा कार्यालयमार्फत जानकारी लिन सक्नेछन्।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया