Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

अस्पतालमा १०% बेड निःशुल्क, नियम उल्लंघनमा इजाजत खारेजीसम्म


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ मार्फत देशभरका अस्पताललाई कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या निःशुल्क सेवाका लागि छुट्याउन अनिवार्य गरिएको छ।

मन्त्रालयका अनुसार सरकारी, निजी तथा सामुदायिक सबै अस्पतालले अब विपन्न तथा लक्षित वर्गका बिरामीलाई छुट्याइएका शय्यामा पूर्ण निःशुल्क उपचार उपलब्ध गराउनुपर्नेछ। उक्त शय्यामा भर्ना भएका बिरामीबाट शय्या शुल्कदेखि शल्यक्रिया, परामर्श, प्रयोगशाला परीक्षण र औषधिसम्म कुनै पनि शुल्क लिन पाइने छैन।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेकी हुन्। कार्यविधिले निःशुल्क शय्यामा उपचार लिने बिरामीलाई अन्य शुल्क तिरेका बिरामीसरह समान सेवा दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

मन्त्रालयले आवश्यकता अनुसार बहिरङ सेवा (ओपीडी) मा समेत कम्तीमा १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिन सकिने व्यवस्था गरेको छ।

कार्यविधि उल्लंघन गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ। लक्षित शय्यामा सेवा नदिएमा कानुनअनुसार सजाय हुने तथा झुटा विवरण पेस गरे अस्पतालको इजाजत निलम्बनदेखि खारेजीसम्म गर्न सकिने व्यवस्था गरिएको छ।

लक्षित वर्ग को हुन्?

निःशुल्क उपचार सुविधा प्राप्त गर्न बिरामीले आफ्नो पहिचान खुल्ने प्रमाण पेस गर्नुपर्नेछ ।

यसका लागि नेपाल सरकारले वितरण गरेको विपन्न परिचयपत्र, सम्बन्धित स्थानीय तहबाट प्राप्त विपन्न वा असहाय भएको सिफारिस तथा बेवारिसे बिरामीका हकमा नेपाल प्रहरी वा स्थानीय प्रशासनको सिफारिस वा मुचुल्का पेस गर्न सकिने छ ।

आकस्मिक अवस्थाका कारण तत्काल कागजात उपलब्ध गराउन नसकिएमा बिरामीले स्वघोषणा फाराम भरेर सेवा लिन सक्नेछन् । तर आवश्यक प्रमाणपत्र अस्पतालबाट डिस्चार्ज हुनुअघि पेस गर्नुपर्नेछ ।

सेवा कहाँ पाइन्छ?

यो सुविधा नेपालको प्रचलित कानुनअनुसार दर्ता भएका सरकारी, निजी तथा सामुदायिक सबै अस्पतालमा उपलब्ध हुनेछ । कार्यविधिले निःशुल्क सेवा लिने र शुल्क तिरेर सेवा लिने बिरामीबीच कुनै पनि प्रकारको विभेद गर्न नपाइने व्यवस्था गरेको छ ।

‘फ्रि हेल्थ पोर्टल’ मार्फत सेवा विवरण

मन्त्रालयले सञ्चालनमा ल्याएको ‘फ्रि हेल्थ पोर्टल’मार्फत अस्पतालहरूमा उपलब्ध निःशुल्क शय्या, सेवा र रगतको विवरण हेर्न सकिनेछ। बिरामीले कुन अस्पतालमा कति शय्या खाली छ भन्ने जानकारी अनलाइनमार्फत नै पाउन सक्ने व्यवस्था गरिएको छ।

के–के सेवा निःशुल्क हुन्छ?

निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई सम्पूर्ण उपचार सेवा उपलब्ध हुनेछ। यसमा चिकित्सकीय परामर्श, शल्यक्रिया, परीक्षण, औषधि र अन्य आवश्यक उपचार समावेश छन्।

तर सौन्दर्य वा कस्मेटिक प्रकृतिका शल्यक्रिया भने यो सुविधाअन्तर्गत पर्ने छैनन्।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट