साउदी अरबको रास तनुरा तेल टर्मिनलमा हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्रमा रहेको प्रमुख तेल टर्मिनल रास तनुरामा आइतबार बिहान हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा हेलिकप्टरमा सवार सबै यात्रुको ज्यान गएको साउदी अधिकारीहरूले जनाएका छन्।
विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोद्वारा सञ्चालित हेलिकप्टर स्थानीय समयअनुसार बिहान करिब ६ बजे दुर्घटनाग्रस्त भएको हो। ऊर्जा मन्त्रालय र सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार मृत्यु हुने सबै १४ जना साउदी नागरिक हुन्।ऊर्जा मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, दिवंगतहरूको आत्माको चिरशान्तिको कामनासमेत गरिएको छ।
यो दुर्घटना अमेरिका र इरानबीच तनाव कम गर्ने कूटनीतिक पहल चलिरहेका बेला भएको हो। साउदी अरबले करिब चार महिनापछि गत शुक्रबारदेखि रास तनुरा टर्मिनलबाट कच्चा तेल लोड-अन प्रक्रिया पुनः सञ्चालनमा ल्याएको थियो।पश्चिम एसियाली मुलुकहरू तेल तथा ग्यास उत्पादन र निर्यात विस्तारमा केन्द्रित रहेका बेला भएको यस दुर्घटनाले ऊर्जा क्षेत्रको सुरक्षाप्रति नयाँ प्रश्न खडा गरेको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।
साउदी नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सुरक्षा निकायहरूले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक अनुसन्धानमा हेलिकप्टरमा प्राविधिक समस्या, मौसमको प्रभाव वा अन्य कारणमध्ये कुन जिम्मेवार थियो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ। ब्ल्याक बक्स र अन्य प्रमाणको विश्लेषणपछि मात्र दुर्घटनाको यथार्थ कारण सार्वजनिक हुने अधिकारीहरूको भनाइ छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया