हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिक मारिए
यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ जना सैनिक मारिएका छन् ।
विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाइँमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
हुथी विद्रोही सन् २०१५ देखि सरकारसँग युद्धमा छन् । यो द्वन्द्वमा लाखौँ मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।
विद्रोहीहरूले यमनको राजधानी सानालगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ ।
सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामयता दुई पक्षबीचको लडाइँ धेरै हदसम्म रोकिएको छ ।
तर गएको शुक्रवार हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र महत्त्वपूर्ण सम्पत्तिहरूलाई लक्षित गरेर आक्रमण गर्ने चेतावनी दिएका थिए । साउदी अरब यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको प्रमुख समर्थक हो ।
सन् २०१५ पछि हुथी समूहले सानालगायत देशको ठूलो भाग नियन्त्रणमा लिईसत्ता कब्जा गर्न थालेपछि साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथीविरुद्धको लडाइँमा सहयोग पु¥याएको थियो ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया