महाधिवेशनका लागि पाँचवटा प्रतिवेदन लेख्दै महामन्त्री भूपदेव शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। महाधिवेशनका लागि प्रस्तुत गरिने विभिन्न प्रतिवेदनहरूको लेखन कार्य अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।
पार्टीका महामन्त्री भूपदेव शाहको संयोजकत्वमा गठित प्रतिवेदन समन्वय उपसमितिले महाधिवेशनमा पेश गरिने पाँचवटा मुख्य प्रतिवेदन तयार पारिरहेको छ। महाधिवेशनमा राजनीतिक, सांगठनिक, लेखा आयोग, निर्वाचन आयोग तथा अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिनेछ।
महामन्त्री शाहका अनुसार राजनीतिक प्रतिवेदन पार्टी सभापतिले प्रस्तुत गर्नेछन् भने सांगठनिक प्रतिवेदन महामन्त्रीहरूले पेश गर्नेछन्। त्यसैगरी लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका प्रतिवेदन सम्बन्धित आयोगहरूले महाधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
प्रतिवेदन निर्माणलाई व्यवस्थित बनाउन पाँचवटै प्रतिवेदनका लागि छुट्टाछुट्टै फोकल पर्सन तोकिएको छ। राजनीतिक प्रतिवेदनको जिम्मेवारी गणेश कार्की, सांगठनिक प्रतिवेदन सञ्जीव भट्टराई, लेखा प्रतिवेदन निशा डाँगी, निर्वाचन प्रतिवेदन सागर ढकाल तथा अनुशासन प्रतिवेदन अरनिको पाँडेलाई दिइएको छ।
महामन्त्री शाहले प्रतिवेदन लेखनसँगै आवश्यक दस्तावेजीकरण, समन्वय तथा अन्य उपसमितिसँग सहकार्यको काम पनि अघि बढिरहेको जानकारी दिए। उनले महाधिवेशनले पार्टीभित्र एकता, समायोजन र संगठनात्मक सुदृढीकरणको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र नेतृत्व विकासका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया