Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः मन्त्री पोखरेल


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग प्रत्यक्ष जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए। यसका लागि आवश्यक बजेट, पूर्वाधार तथा दक्ष जनशक्तिको व्यवस्थामा सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे।

उनका अनुसार विश्वविद्यालय शिक्षा केवल प्रमाणपत्र प्राप्तिमा सीमित हुनु हुँदैन, यसले रोजगारी सिर्जना, उद्यमशीलता विकास र सामाजिक रूपान्तरणमा समेत योगदान पुर्‍याउनुपर्छ।

मन्त्री पोखरेलले कर्णाली प्रदेशका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयहरूले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अध्ययनमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो।

मध्यपश्चिम विश्वविद्यालयले स्थापनाकालदेखि नै अनुसन्धान, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा गरेको प्रगतिप्रति उनले प्रशंसा व्यक्त गरे।

दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै मन्त्री पोखरेलले शिक्षा राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत मात्र नभई देश र समाजको विकासमा उपयोग गर्न आग्रह गरे।

उनले युवा पुस्तालाई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामार्फत बेरोजगारी, गरिबी, जलवायु परिवर्तन, स्वास्थ्य चुनौती तथा सूचना प्रविधिसम्बन्धी समस्याको समाधान खोज्न अग्रसर हुन आह्वान गरे।

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षा र सिर्जनशील सोचका माध्यमबाट युवा पुस्ताले देशको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सक्ने विश्वास व्यक्त गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट