Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

गण्डकी प्रदेशको पर्यटन बजेटमा त्रुटि सच्याइयो, २ अर्ब होइन ९२ करोड ४९ लाख मात्रै


काठमाडौं । गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख गरिएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकममा भएको त्रुटि सच्याउँदै संसदलाई औपचारिक जानकारी गराएको छ।

असार १ गते सार्वजनिक बजेट वक्तव्यमा उक्त मन्त्रालयका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख भए पनि वास्तविक बजेट ९२ करोड ४९ लाख रुपैयाँ मात्र रहेको स्पष्ट गरिएको हो।

अर्थमन्त्री जितबहादुर शेरचनले बुधबार प्रदेश सभामा प्रस्तुत गर्दै बुँदा नम्बर ५६ मा अंकगत त्रुटि भएको स्वीकार गरे। मन्त्रालयगत बजेट विवरण र ‘रातो किताब’सँग मेल नखाएपछि यसबारे प्रश्न उठेको थियो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको छलफलपछि बजेट वक्तव्यलाई संशोधन नगरी संसदमा नै त्रुटि सच्याउने निर्णय गरिएको हो। अर्थमन्त्री शेरचनले सभामा बोल्दै मन्त्रालयको तर्फबाट भएको गल्तीप्रति क्षमायाचना समेत गरे।

उनका अनुसार उद्योग तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, पोखरा तथा प्रमुख गन्तव्यको प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक पर्यटन विकास, होमस्टे तथा ग्रामीण पर्यटन कार्यक्रम, सीप विकास र उद्यमशीलता प्रवर्द्धन लगायतका कार्यक्रम समेटिएका छन्।

३२ अर्ब ९९ करोड रुपैयाँको कुल प्रदेश बजेटभित्र पर्यटन क्षेत्रका लागि उल्लेख गरिएको रकममा भएको असमानता पछि सरकारले वास्तविक विवरण सार्वजनिक गरेको हो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट