राप्रपामा पहिरो: नेतृ चम्पा अधिकारीद्वारा राजीनामा, अध्यक्ष लिङ्देनमाथि ‘प्रचण्ड पथ’ पछ्याएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ चम्पा अधिकारी ‘चाहना’ ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएकी छिन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा उनले राप्रपाको पछिल्लो कार्यशैली, वैचारिक दिशा तथा नेतृत्वको निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।
यसअघि पार्टीले उनलाई अनुशासन उल्लङ्घनको आरोपमा निलम्बन गरेको थियो। राजीनामा पत्रमा अधिकारीले पार्टी नेतृत्वमाथि विगतका चुनावी प्रतिबद्धता पूरा गर्न नसकेको, तथा नेतृत्व शैलीमा एकाङ्कीपन देखिएको आरोप लगाएकी छिन्।
उनका अनुसार पार्टीले आफ्ना मूल मुद्दा र एजेन्डाहरू प्रभावकारी रूपमा अघि बढाउन नसकेको र सत्तासम्बन्धी रणनीतिमा बढी केन्द्रित भएको देखिएको उल्लेख गरिएको छ।
अधिकारीले अघिल्ला निर्वाचनका परिणाम अपेक्षाअनुसार नआउनुमा नेतृत्वको कार्यशैली जिम्मेवार रहेको दाबी गरेकी छिन्। साथै, पार्टीले आफ्नो वैचारिक आधारलाई मजबुत रूपमा प्रस्तुत गर्न नसकेको उनको आरोप छ।
राजीनामा पत्रमा उनले अब आफू नयाँ राजनीतिक विकल्पतर्फ अघि बढ्ने संकेतसमेत गरेकी छिन्। उनी पूर्वमहामन्त्री धवलशम्शेर राणाले गठन गर्न लागेको नयाँ राजनीतिक दलमा सहभागी हुने तयारीमा रहेको चर्चा पनि छ।
यद्यपि, उक्त विषयमा सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि भने भइसकेको छैन।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया