Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

देशसँग पिरती लगाउँदा सांसद, मन्त्री भएँ- महावीर पुन


काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद तथा मन्त्री बन्न पुगेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले आफ्नो जीवनयात्रा र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताबारे भावुक ढंगले धारणा व्यक्त गरेका हुन्।

उनले आफू राजनीतिमा सक्रिय हुने वा मन्त्री बन्ने सोचमा नरहेको उल्लेख गर्दै गाउँबाट सुरु भएको लगाव क्रमशः जिल्ला हुँदै देशप्रतिको प्रेममा रूपान्तरण भएको बताए।

“मेरो पिरती देशसँग बसेको हो। सुरुमा गाउँसँग बसेको थियो, त्यसपछि जिल्ला र देशसँग जोडिँदै गयो। यही प्रेम र समर्पणले आज मलाई यहाँसम्म ल्याएको हो,” मन्त्री पुनले भने।

उनले पुरानो नेपाली गीत ‘पिरतीले जोगी बनायो’ स्मरण गर्दै आफ्नो जीवनसँग उक्त भाव मिल्ने बताए। देश र समाजका लागि काम गर्ने क्रममा आफूले व्यक्तिगत स्वार्थभन्दा सेवा र समर्पणलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

अमेरिकाबाट नेपाल फर्किएपछि ग्रामीण क्षेत्रको विकास, प्रविधिको पहुँच विस्तार र नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै उनले त्यसैको निरन्तरताका रूपमा अहिले सरकारमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेको बताए।

मन्त्री पुनले आफूलाई व्यवहारिक रूपमा पनि ‘जोगी’ जस्तै अनुभूति हुने बताउँदै देशको विकास र समृद्धिका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट