मन्त्री सीता बादीले सार्वजनिक गरिन् नगर्ने १० कामको सूची
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पद सम्हालेको करिब पाँच हप्ताको अनुभव र आफ्ना प्रतिबद्धता सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत १० बुँदामा आफ्नो कार्यकालमा गर्ने र नगर्ने कामहरूको स्पष्ट सूची प्रस्तुत गरेकी हुन्।
मन्त्री वादीले आफूले कुनै पनि राजनीतिक दबाब, भनसुन वा ‘भोट दिएको आधार’ मा काम नगरेको र सबै नागरिकलाई समान रूपमा सेवा दिएको दाबी गरेकी छन् । उनले विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने बताउँदै उनले नागरिकका दुःख–अप्ठ्यारोमा आफैंसँगै उभिने प्रयास गर्ने उल्लेख गरेकी छन् ।
मन्त्री वादीले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धतामा नातागोता, चिनजान वा सम्बन्धका आधारमा नियुक्ति, सरुवा–बढुवा नगर्ने, कानुनविपरीत भनसुन वा शक्तिको दुरुपयोग नगर्ने, तथा गलत काम गर्ने व्यक्तिको संरक्षण नगर्ने उल्लेख छ ।
त्यस्तै उनले लागूऔषध, ठगी, जालसाजी, कुटपिट र तस्करीजस्ता अपराधमा संलग्नलाई कुनै पनि हालतमा संरक्षण नगर्ने प्रतिबद्धता जनाएकी छन् । भ्रष्टाचार र कमिसनखोरीप्रति शून्य सहनशीलता अपनाउने भन्दै उनले घुस नलिने र त्यस्ता गतिविधिविरुद्ध कडा रूपमा उभिने बताएकी छन्।
उनले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध दृढ रूपमा लड्ने उल्लेख गरेकी छन् ।
मन्त्री वादीका १० वाचाः
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।
२. कानूनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।
३. कानून वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने–गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी-महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।
७. राज्यका कुनै पनि स्रोतसाधनको दुरुपयोग गर्दिनँ ।
८. सरकारी सेवा छिटो गराइदिन स्क्रिन सट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा-क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी-लिने छैन ।
१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैनस सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया