भरतपुर अस्पतालमा आइसियु प्रतीक्षा सूची अब डिस्प्ले बोर्डमा, शय्या खाली भएपछि एसएमएसमार्फत सूचना
चितवन। भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता र सहज पहुँच बढाउने उद्देश्यले प्रतीक्षारत बिरामीको विवरण विद्युतीय डिस्प्ले बोर्डमार्फत सार्वजनिक गर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
अस्पतालका अनुसार अब आइसियुमा भर्ना हुन प्रतीक्षारत बिरामीहरूको नाम तथा विवरण अस्पताल परिसरमा रहेको डिस्प्ले बोर्डमा देखाइनेछ। साथै, आइसियुको शय्या उपलब्ध हुनेबित्तिकै सम्बन्धित बिरामी वा उनका आफन्तलाई मोबाइलमा एसएमएस पठाएर जानकारी गराइने व्यवस्था पनि सुरु गरिएको छ।
आइसियुका शय्या अधिकांश समय भरिभराउ रहने अवस्थालाई मध्यनजर गर्दै सेवाग्राहीले आफ्नो पालो र शय्याको अवस्थाबारे सहज जानकारी पाउन सकून् भन्ने उद्देश्यले यो प्रणाली लागू गरिएको अस्पताल प्रशासनले जनाएको छ।अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार आइसियुजस्तो संवेदनशील सेवामा निष्पक्षता, पारदर्शिता र चिकित्सकीय प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न नयाँ व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।
उनले भने, “प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्डमार्फत सार्वजनिक गर्ने र शय्या उपलब्ध भएपछि सम्बन्धित पक्षलाई मोबाइल सन्देश पठाउने व्यवस्था गरेका छौँ। यसले सेवा प्रवाहलाई अझ व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउन सहयोग पुर्याउनेछ।”
अस्पतालले जनाएको अनुसार आइसियु भर्नासम्बन्धी सम्पूर्ण विवरण आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट प्रणालीमा प्रविष्ट गरिनेछ। त्यसपछि बिरामीको प्रतीक्षा अवस्था तथा शय्या उपलब्धताको जानकारी डिजिटल प्रणालीमार्फत अद्यावधिक हुँदै जानेछ। यसबाट आइसियु सेवाको व्यवस्थापन थप व्यवस्थित हुनुका साथै चिकित्सकीय आवश्यकता र प्राथमिकताअनुसार सेवा प्रवाह गर्न सहज हुने विश्वास अस्पतालको छ।
हाल ६ सय शय्याको क्षमता रहेको भरतपुर अस्पतालमा वयस्कतर्फ पुरानो एमआइसियु र एआइसियुमा १८, नयाँ आइसियु तथा सिसियुमा १८ र बर्न वार्डमा दुई गरी कुल ३८ आइसियु शय्या सञ्चालनमा छन्। यस्तै, बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियु सेवा उपलब्ध रहेको छ। अस्पतालको आकस्मिक विभागमा ५० शय्या रहेका छन् भने दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया