Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’: मन्त्री पौडेल


म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालका धार्मिक तथा पौराणिक स्थललाई जोड्दै ‘देवभूमि सर्किट’ निर्माण गर्ने सरकारको योजना अघि बढाइएको बताएका छन्।

आइतबार म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले पौराणिक महत्व बोकेका स्थलहरूको पहिचान गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिए।

उनले धर्मग्रन्थमा उल्लेख भएका देवीदेवता, ऋषिमुनि, धर्मगुरु तथा प्रसिद्ध लामाहरूले तपस्या गरेको, भ्रमण गरेको वा ऐतिहासिक सम्बन्ध रहेका स्थानलाई एकीकृत रूपमा विकास गरी धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउने लक्ष्य रहेको बताए।

मन्त्री पौडेलका अनुसार दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, पुलाश्रम, बागलुङ कालिका, कालञ्जर पर्वत र देवघाटलगायत कालीगण्डकी करिडोरका धार्मिक स्थललाई समेटेर ‘देवभूमि सर्किट’ विकास गर्ने अवधारणा अघि बढाइएको छ। यसका लागि आवश्यक पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सरकारले बजेटसमेत व्यवस्था गरेको उनले बताए।

उनले धार्मिक पर्यटनसँगै पर्यावरणीय, प्राकृतिक, साहसिक तथा आरोग्य पर्यटनलाई पनि समान प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको समग्र विकासमा सरकार केन्द्रित रहेको उल्लेख गरे।

गलेश्वर शिवालयको दर्शनपछि मन्त्री पौडेलले क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल गर्दै स्थानीय तहसँगको सहकार्यमा तीर्थयात्रीलाई लक्षित गरी शाकाहारी भोजनसहित न्यून शुल्कमा धर्मशाला सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

धार्मिक संस्थाहरूमा रहेको कोषलाई प्रभावकारी रूपमा परिचालन गर्दै पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका योजनामा लागत साझेदारीको मोडल अपनाउने सरकारको नीति रहेको पनि उनले बताए।

छलफलका क्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन, सदस्यसचिव सम्मरबहादुर थापालगायतले क्षेत्रको वर्तमान अवस्था, विकास योजना तथा सरकारबाट अपेक्षित सहयोगबारे मन्त्रीलाई जानकारी गराएका थिए।

यसैबीच, मुस्ताङबाट फर्किने क्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण आधार शिविरमा सञ्चार सेवा, विद्युत् विस्तार र पर्यटक आवास व्यवस्थापन सुधारका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।

शनिबार मुक्तिनाथ र कोरला नाकाको स्थलगत भ्रमण गरेका मन्त्री पौडेलको टोली आइतबार बेनी हुँदै सडकमार्गबाट काठमाडौं फर्किएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट