भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि नेपाली राजदूतमा निश्चलराज पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, अमेरिकाको लागि चिरजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुणामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा, साउदी अरबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको छ ।
अब राजदूतका लागि सिफारिसमा परेका नाम सुनुवाइको लागि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ समितिमा पठाउँछ । संसदीय समितिबाट अनुमोदित भएका नाममा एग्रिमो बनाई परराष्ट्रले सम्बिन्धत देशमा पठाउँछ ।
सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिले ती व्यक्तिहरूलाई राजदूत नियुक्त गर्ने कानुनी प्रावधान छ ।
परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै रिक्त १३ देशका राजदूतको लागि आवेदन मागेको थियो ।
परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।
परराष्ट्रले आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते बेलुकी ५ बजे तोकेको थियो । सो अवधिमा दुई हजार ७०० जनाको झन्डै चार हजार आवेदन परेका थिए ।
सरकारले २१ देशका लागि राजदूत सिफारिस गर्नुपर्ने भए पनि शुक्रबार राजनीतिक कोटाअन्तर्गतका १३ जनाको नाम मात्र सिफारिस गरेको हो । करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका सहसचिव)लाई राजदूतमा सिफारिस गर्न बाँकी नै छ । दोस्रो चरणमा करियर डिप्लोम्याटको नाममा राजदूतमा सिफारिस गर्ने तयारी छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल असोज ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा हुनेछन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि असोज ६ देखि १० गतेसम्म महासभामा भाग लिन न्युयोर्कमा हुनेछन् ।
परराष्ट्रमन्त्री राष्ट्रसंघको महासभामा सहभागी भई असोज १४ गते फर्कनेछन् । त्यसपछि मात्रै दोस्रो चरणमा करियर डिप्लोम्याटको नाम राजदूतका लागि सिफारिस गरिनेछ ।
अहिले १६ नेपाली नियोग राजदूतविहीन छन् । अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका र स्पेनमा रहेका नेपाली नियोगहरु राजदूतविहीन छन् । भियना, इजिप्ट, बहराइन, बंगलादेश र म्यानमारका लागि नेपाली राजदूतको चारवर्षे कार्यकाल सकिएको छ । राजदूत सिफारिस गर्न नसकेपछि उनीहरूलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्किन भनिएको छ ।
राजदूत नियुक्ति गर्दा करियर र राजनीतिक कोटाबाट ५०/५० प्रतिशत गर्ने परराष्ट्रको अभ्यास छ । अहिले केही नियोगमा करियर डिप्लोम्याट राजदूत छन् । त्यसैले २१ राजदूत सिफारिस गर्दा करियरलाई ५ देखि ७ र बाँकी राजनीति कोटामा पर्ने देखिन्छ ।
सम्बन्धित समाचार
राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा
काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रम, पुराना शैली र नेतृत्वबाट देश अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति...
जेनजी सांसदलाई सिंहदरबार बोलाइयो
प्रधानमन्त्री बालेन्द्र साहले 'जेनजी सांसद'हरूलाई छलफलमा बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मध्याह्न १२ बजे...
कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस आन्तरिक विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले कांग्रेसले विगतमा नेकपा एमाले दुई पटक विभाजन...




