वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?
सुशील रेग्मी
नेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ? दोस्रो, यही संरचनाले काम नगरेपछि नयाँ राजनीतिक संरचना कसरी बनाउने ? दोस्रो बहसको केन्द्रमा वरिष्ठ वामपन्थी नेता झलनाथ खनाल देखिन थालेका छन् ।
नेकपा एमालेभित्र निर्वाचनपछि सुरु भएको समीक्षा र पुनर्संरचनाको बहसले पार्टीभित्रको नेतृत्व प्रश्नलाई सतहमा ल्याएको छ । पुनर्गठन कार्ययदलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पाेखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेपछि विवाद झन् स्पष्ट भएको छ । पोखरेलले तयार गरेको प्रतिवेदनमा पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनका विकल्प अघि सारिएको छ, जसमा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बने ।
अर्कोतर्फ बादलले छुट्टै प्रतिवेदनमार्फत ओली नेतृत्वमाथि उठेको प्रश्नको प्रतिवाद गरेका छन् । उनको प्रतिवेदनमा ओलीलाई नेतृत्वबाट हटाउने प्रयासको विरोध गरिएको विवरण सार्वजनिक भएको छ । कार्यदलको बैठकमा दुवै प्रतिवेदन पेस भएपछि नेतृत्वको प्रश्नलाई लिएर बादल र पोखरेलबीच प्रत्यक्ष मतभेद भएको बताइएको छ ।
यसले एमालेको संकट एउटा नेताको पक्ष र अर्को नेताको विपक्षको विवाद हो कि पार्टीको राजनीतिक दिशा र संगठनात्मक संरचनामै समस्या छ भन्ने प्रश्न खडा गरेको छ । यही ठाउँमा झलनाथ खनालको प्रस्ताव अर्थपूर्ण देखिन्छ ।
खनालले केही साताअघि नै ओली र प्रचण्डकै नेतृत्वमा वाम एकता पुनर्जीवित हुन नसक्ने बताएका थिए । उनको तर्क थियो, पहिले वाम आन्दोलन किन कमजोर भयो भन्ने गम्भीर समीक्षा हुनुपर्छ । त्यसपछि मात्रै नयाँ नेतृत्व र नयाँ राजनीतिक आधारमा एकताको प्रक्रिया अघि बढ्न सक्छ ।
खनालको पछिल्लो अभिव्यक्ति अझ स्पष्ट छ । उनले नेकपालाई पुरानै ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताएका छन् । यसको अर्थ अहिलेको बहस एमाले, नेपाली कम्युनिस्ट पार्टीलाई एउटै नाममा जोड्ने विषय होइन । मुख्य कुरा नयाँ वाम शक्ति कस्तो हुने भन्ने हो ।
खनालले त्यसको वैचारिक आधारका रूपमा राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता, आर्थिक विकास र नेपाली विशेषतामा आधारित समाजवादलाई अघि सारेका छन् । उनले चीनको विकास अनुभवबाट नेपालले सिक्नुपर्ने तर चिनियाँ मोडलको हुबहु नक्कल गर्न नहुने बताएका छन् । नेपालले आफ्नै इतिहास, संस्कृति र सामाजिक विशेषताअनुसार विकास तथा समाजवादको मोडल निर्माण गर्नुपर्ने उनको धारणा छ ।
यही कारण खनालको बहस पार्टी एकताको सामान्य नाराभन्दा फरक देखिन्छ । उनी वाम आन्दोलनको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग मात्रै जोडिरहेका छैनन् । नीति, कार्यक्रम, संगठन र विकासको मोडलसमेत पुनर्विचार गर्नुपर्ने उनको धारणा छ । एउटा यहाँ छुटाउनै नहुने महत्त्वपूर्ण विषय भनेकाे भूराजनीतिक । गत वर्षकाे जेनजी आन्दाेलनपछि अमेरिका, चीन र भारतले नेपालकाे राजनीतिमा निकै चासाेका साथ हेरिरहेका छन् । खनाललाई चीनले विश्वास गर्ने नेताकाे रूपमा हेरिन्छ । जसरी केपी ओली, प्रचण्ड र माधव नेपाललाई भारत र अमेरिकाले बढी विश्वास गर्छ ।
खनालको नयाँ राजनीतिक प्रस्तावमा पूर्वमाओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ताको आकर्षण बढेकाे छ । माओवादी आन्दोलनबाट आएका विभिन्न समूह अहिले अलग–अलग राजनीतिक प्रक्रियामा छन् । नेतृत्व, संगठन र राजनीतिक कार्यदिशाबारे उनीहरूभित्र आफ्नै खाले बहस छ । त्यसैले खनालको ‘पुनर्गठन र रूपान्तरण’को प्रस्तावले माओवादी पृष्ठभूमिका ती शक्तिलाई पनि नयाँ राजनीतिक 'प्लेटफर्म'बारे सोच्ने ठाउँ दिन सक्छ ।
नेपालको वाम राजनीतिमा विगतमा पटक–पटक एकता भएका छन् । पार्टीको नाम फेरिएका छन् । नेतृत्व फेरिएको छ । तर संगठन सञ्चालनको शैली, नेतृत्व हस्तान्तरणको संस्कार, आर्थिक नीति र जनतासँगको सम्बन्धमा अपेक्षित परिवर्तन हुन नसकेको आलोचना पनि निरन्तर छ । त्यसैले अहिलेको संकटलाई ‘फुट कि एकता’को प्रश्नमा मात्र हेर्ने हो भने बहस फेरि पुरानै चक्रमा फर्किन सक्छ ।
एमालेको पुनर्संरचना कार्यदलमा देखिएको बादल–पोखरेल विवादले यही चुनौती देखाएको छ । एक पक्ष नेतृत्वको निरन्तरतालाई प्राथमिकता दिइरहेको छ । अर्को पक्ष नेतृत्वसँगै संगठन, नीति र नेतृत्व पुनर्संरचनाको आवश्यकता औंल्याइरहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीभित्र पनि नयाँ संरचनालाई कसरी संस्थागत गर्ने, नेतृत्वको पुस्तान्तरण कसरी गर्ने र वाम एकताको राजनीतिक अर्थ के हुने भन्ने प्रश्न बाँकी छन् । यसरी हेर्दा नेपाली वाम राजनीतिमा अहिले ‘शून्य वाम शिल्प’ र ‘शून्य एकता शिल्प’को अवस्थामा देखिएको छ । पुरानो संरचना संकटमा छ । नयाँ संरचनाको खाका स्पष्ट छैन । यही खाली ठाउँमा झलनाथ खनालले अघि सारेको पुनर्गठनको बहसले भने राजनीतिक अर्थ राखेको छ ।
अब निर्णायक प्रश्न एउटै छ, पुराना पार्टीलाई जोडेर फेरि अर्को पुरानै शक्ति बनाउने कि नयाँ विचार, नयाँ नीति, नयाँ संगठन र नयाँ राजनीतिक कार्यदिशासहित वाम आन्दोलनको नयाँ शिल्प निर्माण गर्ने ?
त्यसको उत्तर आगामी छलफल, संगठनात्मक पहल र राजनीतिक निर्णयहरूले दिनेछन् । अहिले भने वाम राजनीतिमा पुनर्गठनको बहस रोकिएको छैन । एमालेभित्रको नेतृत्व विवाद र नेकपाभित्रको संगठनात्मक संक्रमणसँगै त्यो बहस अझ फराकिलो बन्दै गएको छ । याे बहसकाे भरपर्दाे विकल्पकाे नेतामा झलनाथ खनाल देखिएका छन् ।
सम्बन्धित समाचार
ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ?
नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण संकेत दिएको छ । भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझै कायम छ । तर दुवै देश टकराव घटाएर...
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...
राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा
काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रम, पुराना शैली र नेतृत्वबाट देश अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति...




