Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

दिपक भट्टको ६ करोड ३० लाख पर्ने ‘१’ नम्बरको गाडी जफत


काठमाडौं । सम्पत्ति शुद्धीकरणसहित विभिन्न आर्थिक कसुरको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका दिपक भट्टको करोडौं मूल्य पर्ने गाडी जफत गर्न विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबारको सुनुवाइपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। त्यसपछि भट्टलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

अदालतले ६ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने ०१–०३३ च १ नम्बरको गाडी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको छ। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त गाडी अब जफत हुने प्रक्रियामा गएको हो।

उनका अनुसार अदालतमा पेस गरिएका मोबाइल उपकरणहरू अदालतको जिन्सीमा दाखिला गर्न तथा बरामद विदेशी मुद्रा अमेरिकी डलर र थाइ भाट नेपाल राष्ट्र बैंकमा पठाउन पनि आदेश दिइएको छ।

यसै मुद्दामा संलग्न सुलभ अग्रवाललाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारको व्यवस्था मिलाउन आदेश दिइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूविरुद्ध अनुसन्धान गरी सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र तथा विदेशी विनिमय ऐनअन्तर्गतका विभिन्न कसुरमा मुद्दा दायर गरेका थिए।

दिपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडभन्दा बढी र सुलभ अग्रवालविरुद्ध २५ अर्बभन्दा बढी बिगो कायम गरिएको अदालत स्रोतले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट