भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा एक सातादेखि निरन्तर सुनुवाइ भइरहेको छ। गत जेठ २७ गतेदेखि सुरु भएको बहस बिहीबार पनि नसकिएपछि अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासमा जारी सुनुवाइमा अभियोजन र प्रतिरक्षा पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। लामो समयदेखि विभिन्न कारणले रोकिएको उक्त मुद्दाको सुनुवाइ पुनः अगाडि बढाइएको हो।
प्रहरी अनुसन्धानअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाई ठूलो रकम असुलिएको आरोप छ। सोही प्रकरणमा २०८० जेठ १० गते काठमाडौं जिल्ला अदालतमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
मुद्दाका प्रतिवादीहरूमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन्।
अभियोगपत्रमा संगठित रूपमा नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरेर विदेश पठाउने योजनामा संलग्न रहेको आरोप लगाइएको छ। प्रतिवादीहरूमाथि किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी कसुर लगाइएको छ।
यस प्रकरणमा मुख्य बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा लगायत विभिन्न व्यक्ति तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत प्रतिवादी छन्।
अदालतमा बहस प्रक्रिया जारी रहेकाले मुद्दाको सुनुवाइ आगामी दिनमा पनि निरन्तर हुने जनाइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया