न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण च्याटजिपीटी र डिजिटल हस्ताक्षर प्रविधिको दुरुपयोग गरी अदालतका कागजात, छाप तथा हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय विवश अधिकारीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार अधिकारीलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै अनुसन्धान र मुद्दाको प्रक्रिया टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।
गोरखा स्थायी घर भई हाल काठमाडौंको टोखा बस्दै आएका अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड, आधिकारिक छाप तथा न्यायाधीश र अदालतका कर्मचारीहरूको हस्ताक्षर किर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा उनले अदालतको फेसबुक पेजबाट लेटरप्याड र हस्ताक्षरका नमुनाहरू संकलन गरी च्याटजिपीटीमार्फत अदालतको शैलीमा सामग्री तयार गरेको तथा डिजिटल हस्ताक्षर बनाउने वेबसाइट प्रयोग गरेर नक्कली हस्ताक्षर तयार पारेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार अधिकारीले ‘मुद्दा पुनः खोल्ने तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना’ लगायतका झुट्टा कागजात तयार गरी विभिन्न व्यक्तिलाई देखाएर विश्वास दिलाउने प्रयास गरेका थिए। उनले आर्थिक कारोबार र ऋण सम्बन्धी विषयमा अन्य व्यक्तिलाई आश्वस्त पार्न यस्ता कागजात प्रयोग गरेको बयान दिएका छन्।
अदालतका शाखा अधिकृतहरूको हस्ताक्षर तथा अदालतको आधिकारिक कागजात किर्ते भएको जानकारी पाएपछि काठमाडौं जिल्ला अदालतका कर्मचारीले प्रहरीमा उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरी उनको साथबाट मोबाइल फोन तथा विभिन्न नक्कली कागजात बरामद गरेको थियो।
सरकारी वकिल कार्यालयले अधिकारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखत सम्बन्धी कसूरमा मुद्दा दायर गरेको छ। उक्त कसूरमा दोषी ठहरिए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।
अदालतको आदेशपछि अधिकारीलाई केन्द्रीय कारागार चलान गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया