बेन निवासमा बालेन टोलीको गोप्य छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनको ललितपुरस्थित निजी निवासमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसहित बालेन निकट टोलीबीच गोप्य छलफल भएको स्रोतले जनाएको छ।
संसद् बैठक सकिएलगत्तै बिहीबार ज्वागलस्थित बेन निवासमा भएको भेटमा दुई मन्त्री र सल्लाहकार बेनबीच लामो समय संवाद भएको बताइएको छ। छलफलको औपचारिक एजेन्डा सार्वजनिक नभए पनि पछिल्ला दिनमा प्रधानमन्त्री शाह, उनका प्रमुख सल्लाहकार र दुई मन्त्रीबीच बढ्दो समन्वयका कारण उक्त भेटलाई विशेष अर्थका साथ हेरिएको छ।
गत साता प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री लम्सालसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ टिप्पणी गरेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको थियो। त्यसयता प्रधानमन्त्री र यी दुई मन्त्रीबीच बाक्लो संवाद भइरहेको चर्चा चलिरहेको छ।
स्रोतका अनुसार बेन निवासमा भएको छलफलमा सरकार सञ्चालन, राजनीतिक रणनीति तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनसँग सम्बन्धित विषयमा समेत कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ। रास्वपाको विधान संशोधन, सभापति रवि लामिछानेलाई थप बलियो बनाउने तयारी तथा महाधिवेशनमा नेतृत्व पक्षको व्यवस्थापनबारे पनि अनौपचारिक छलफल भएको स्रोतको दाबी छ।
यद्यपि उक्त भेटमा प्रधानमन्त्री शाह स्वयं सहभागी थिए वा थिएनन् भन्ने विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन। सम्बन्धित पक्षले पनि भेटवार्ताबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
रास्वपाको पहिलो महाधिवेशन ७ देखि ९ असारसम्म चितवनमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र भइरहेका बेला बेन निवासमा भएको यो भेटलाई पार्टीभित्रको रणनीतिक समन्वय र आगामी राजनीतिक योजनासँग जोडेर हेरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया