वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
धनगढी, असार ८ कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटा र कुँवरबीच विवाद भएपछि कुँवरले वडाध्यक्षको घाँटी समातेर हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
घटनापछि वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन्।प्रहरीका अनुसार कुँवर हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी छन् र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
यता पत्रकार कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि पहिलोपटक दुर्व्यवहार गरेपछि प्रतिकारस्वरूप उक्त व्यवहार गरेको दाबी गरेकी छन्। घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्यसमेत रहेकी कुँवर संलग्न घटनाले पत्रकारिता क्षेत्रभित्र पनि चर्चा र बहस सिर्जना गरेको छ। घटनापछि विभिन्न पत्रकारहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पत्रकारिताको मर्यादा र पेशागत आचरणको विषयमा प्रश्न उठाएका छन्।यद्यपि घटनाबारे आधिकारिक निष्कर्ष भने अनुसन्धानपछि मात्र आउने भएकाले आरोप र प्रत्यारोपका विषयमा सम्बन्धित निकायको छानबिनलाई पर्खनुपर्ने देखिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया