Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई पाँच दिनभित्र हट्न सरकारको निर्देशन


काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूलाई पाँच दिनभित्र सो स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै सरकारले तोकेको सेवा–सुविधा बुझेर सेन्टर छोड्न आग्रह गरेको हो।

नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाइएपछि सरकारले उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो । हाल कीर्तिपुरको सेन्टरमा ६८ परिवारका २०३ जना बसिरहेका छन् ।

राहत र पुनःस्थापना प्याकेज

समितिले होल्डिङ सेन्टर छाड्ने प्रत्येक परिवारलाई तत्काल ‘स्व-व्यवस्थापन’ खर्च स्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो बैंक खाता नम्बरसहितको निवेदन पेस गर्नुपर्नेछ । खातामा पैसा जम्मा भएपछि उनीहरूले ५ दिनभित्र ठाउँ खाली गर्नुपर्नेछ ।

यति मात्र नभई, सेन्टरबाट हटेकाहरूमध्ये ‘वास्तविक सुकुम्बासी’ प्रमाणित भएका परिवारलाई सरकारले मासिक १५ हजार रुपैयाँका दरले कोठा भाडा समेत उपलब्ध गराउनेछ । यो सुविधा भूमि आयोगले उनीहरूको स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म निरन्तर रहने बताइएको छ ।

उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा हाल ३८८ परिवार आश्रित छन्। समितिले सुरुमा कीर्तिपुरबाट यो प्रक्रिया थालनी गरेको छ । सूचना अटेर गरी हट्न नमान्नेहरूको हकमा सरकारले अन्य विकल्प वा व्यवस्थापनबारे थप छलफल गर्ने समितिले जनाएको छ ।

नदी किनाराका बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले सुकुम्बासीका रूपमा नाम दर्ता गराएका थिए । उनीहरूको हकमा वास्तविक सुकुम्बासी पहिचान गर्ने कार्यलाई पनि समितिले अघि बढाएको छ । राहत वितरणका लागि समितिले अहिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट