Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

उपत्यका बर्डफ्लुको ‘हटस्पट’, १० भन्दा बढी जिल्लामा संक्रमण फैलियो


काठमाडौं । काठमाडौं उपत्यकामा एभियन इन्फ्लुएञ्जा संक्रमण तीव्र रूपमा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा संक्रमण व्यापक बनेपछि उपत्यका मुख्य ‘हटस्पट’ को रूपमा देखिएको छ ।

विभागका अनुसार पूर्वी नेपालबाट सुरु भएको संक्रमण अहिले १० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ । मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, पश्चिम नवलपरासी हुँदै काभ्रेसम्म रोग फैलिएको पुष्टि भएको छ । उपत्यकाभित्र भने काठमाडौँका कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर, गोदावरी, महालक्ष्मी लगायतका क्षेत्रमा ठूलो मात्रामा संक्रमण देखिएको छ ।

अधिकारीहरूले प्रारम्भिक रूपमा एच एन२ र पछिल्ला घटनामा एच ५एन१ भाइरस पुष्टि भएको जनाएका छन् । घना बस्ती, अव्यवस्थित कुखुरा फार्म, जैविक सुरक्षा मापदण्डको कमजोर कार्यान्वयन र जंगली चराको आवागमन संक्रमण फैलिनुको प्रमुख कारण भएको बताइएको छ ।

संक्रमण नियन्त्रणका लागि पशु प्राविधिक टोली परिचालन गरिएको छ । संक्रमित फार्ममा कुखुरा, चल्ला, अण्डा र अन्य सामग्री नष्ट गरी निसंक्रमण गर्ने काम भइरहेको छ । सरकारले प्रभावित क्षेत्रबाट अन्य स्थानमा रोग फैलिन नदिन पन्छीजन्य उत्पादनको ओसारपसारमा कडाइ गरेको छ ।

विभागले फार्ममा बाह्य व्यक्तिको प्रवेश रोक्ने, सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्ने र एक फार्मबाट अर्को फार्ममा कामदार नजान निर्देशन दिएको छ । मरेका वा बिरामी पन्छी नछुन र तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिन पनि आग्रह गरिएको छ ।

संक्रमण नियन्त्रणपछि नष्ट गरिएका पन्छीका लागि क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । प्रचलित मापदण्डअनुसार मूल्याङ्कन गरी करिब ७५ प्रतिशत राहत उपलब्ध गराइनेछ ।

विशेषज्ञहरूले पन्छीसँग प्रत्यक्ष सम्पर्क कम गर्न, मासु र अण्डा राम्ररी पकाएर मात्र उपभोग गर्न तथा सरसफाइमा ध्यान दिन सुझाव दिएका छन् ।

उपत्यकामा बढ्दो घनत्वका कारण संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट