Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

११ जिल्लाका ८२ स्थानमा फैलियो बर्ड फ्लू, पाँच लाखभन्दा बढी पन्छी नष्ट


काठमाडौं । चरा तथा पन्छीमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) देशका ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ। रोग नियन्त्रणका लागि हालसम्म पाँच लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङमा पहिलोपटक बर्ड फ्लू पुष्टि भएपछि रोग विस्तार हुँदै हाल ११ जिल्लाका ८२ स्थानमा पुगेको हो।विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लूको संक्रमण देखिएको छ।

रोग नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ पन्छी, नौ लाख ८९ हजार ३१३ अण्डा तथा एक लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।कोशी प्रदेशमा संक्रमण नियन्त्रणका लागि एक महिनासम्म पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा रोक लगाइएको थियो। हाल रोग नियन्त्रणमा आएसँगै उक्त प्रतिबन्ध खुकुलो बनाइएको छ।

विभागका अनुसार पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखी गस्ती परिचालन गरिएको थियो। यस क्रममा अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू समेत नष्ट गरिएको जनाइएको छ।

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको भए पनि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका केही क्षेत्रमा अझै संक्रमण देखिएकाले विशेष निगरानी बढाइएको छ।

उपत्यकामा उच्च सतर्कता

पशु सेवा विभागले काठमाडौं उपत्यकाका तीन जिल्ला तथा काभ्रेका प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोग नियन्त्रण अभियान सञ्चालन भइरहेको महानिर्देशक दाहालले जानकारी दिए।

विभागले पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ। पुराना अण्डा क्रेट पुनः प्रयोग नगर्ने, ढुवानीका साधनलाई फार्मभित्र प्रवेश गराउनु अघि अनिवार्य रूपमा निसंक्रमण गर्ने तथा फार्म परिसर सफा राख्न सुझाव दिइएको छ।

त्यसैगरी कागलगायत जंगली पन्छीहरूलाई घरपालुवा पन्छीसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउन र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन विभागले आग्रह गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट