Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री शाह


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह काठमाडौंतर्फ प्रस्थान गरेका छन्।

चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

चितवनको भरतपुरमा रास्वपा महाधिवेशन जारी छ। पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्य पदका लागि चुनाव गर्न लागिएकोमा सभापति पदमा रवि लामिछाने निर्विरोध भइसकेका छन्। सभापति लामिछानेको प्रस्तावक वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह थिए।

केन्द्रीय सदस्यहरूमा भने ९९ पदका लागि करिब ४ सय जनाले उम्मेदवारी दिएका छन् र आज दिउँसो विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ। केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ।

रास्वपा महाधिवेशन नसकिँदै प्रधानमन्त्री शाह भने काठमाडौं फर्किएका हुन्। उनलाई रास्वपा वरिष्ठ नेता मनोनीत गर्ने तयारी छ। प्रधानमन्त्री शाहसँगै श्रीमती र छोरी तथा उनका राजनीतिक सल्लाहकार कुमार बेनलगायत पनि छन्।

रास्वपाले असार ७ देखि ९ गतेसम्म महाधिवेशन मिति तय गरेको थियो। प्रतिनिधि टुंग्याउनेलगायत कारण महाधिवेशन केही दिन चल्ने भएको छ। महाधिवेशन लम्बिने भएपछि प्रधानमन्त्री शाह काठमाडौं फर्केका छन्।

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मङ्गलबारको बन्दसत्रमा सहभागी भएका थिएनन् । चितवनमा रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट