Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

धनुषाको गोदारमा डेढ अर्बभन्दा बढी लगानीमा ४ तारे होटल बन्दै


काठमाडौं । धनुषा जिल्लाको गोदार क्षेत्रमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा चार तारे होटल निर्माण हुने भएको छ। मनसरा होटल प्रालिले करिब ०.२ हेक्टर क्षेत्रफलमा आधुनिक सुविधासम्पन्न होटल निर्माणको योजना अघि बढाएको हो।

सन् २०२४ मा दर्ता भएको कम्पनीले निर्माण गर्न लागेको होटलमा ६० वटा कोठा रहनेछन्। तीमध्ये एक प्रेसिडेन्सियल सुइट, दुई सुइट, ३६ डिलक्स तथा २१ स्तरीय कोठा रहने कम्पनीले जनाएको छ।

होटलमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्वीमिङ पुल, स्पा, विवाह तथा अन्य कार्यक्रमका लागि ब्याङ्क्वेट हललगायतका सुविधा उपलब्ध हुनेछन्।

होटल निर्माणका लागि कुल १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। परियोजनामा ऋण र इक्विटीको अनुपात ६१ः३९ रहनेछ। कम्पनीका अनुसार हालसम्म लगानीकर्ताबाट १६ करोड रुपैयाँ इक्विटी व्यवस्थापन भइसकेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म आयोजनाले २२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। कम्पनीले सन् २०२८ को अप्रिल महिनादेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

यसैबीच, होटल निर्माणका लागि आवश्यक दीर्घकालीन कर्जा जुटाउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ समेत गराइसकेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट