Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

मनसुन विपद् व्यवस्थापनका लागि ८ हजार १८० सशस्त्र प्रहरी २४ घण्टा स्टान्डबाईमा


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि ८ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ।

सशस्त्र प्रहरीले असार ११ गते ‘विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल परिचालन, पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ सार्वजनिक गर्दै देशव्यापी तयारीबारे जानकारी दिएको हो।योजनाअनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ बमोजिम देशभर रहेका २१ हजार ६९९ जना सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिएको छ। असार मसान्तसम्म सम्पूर्ण जनशक्तिलाई तालिम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

विपद् प्रतिकार्यका लागि ८ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा स्टान्डबाई अवस्थामा राखिएको छ। साथै, देशभरका सशस्त्र प्रहरी कार्यालयमा डिजास्टर फोकल पर्सन तोकेर सम्बन्धित निकायसँग आवश्यक समन्वयको व्यवस्था मिलाइएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रहरूमा सञ्चार तालिम प्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारीलाई समन्वयका लागि खटाइएको छ।

उद्धार टोली पुग्न समय लाग्ने सम्भावित जोखिमयुक्त क्षेत्रलाई लक्षित गर्दै सातवटै प्रदेशका ५४ स्थानमा अस्थायी मनसुन बेस स्थापना गरिएको छ। जसअन्तर्गत कोशी प्रदेशमा ६, मधेशमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा बेस सञ्चालनमा रहेका छन्।त्यसैगरी, उच्च जोखिममा रहेका १६ स्थानमा स्थायी विपद् व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनसहित तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीलाई थप सुदृढ बनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट