Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

कालीमाटीमा लौका, काउली र आलुमा अत्यधिक विषादी भेटियो, तत्काल नष्ट


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका केही तरकारीमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभाग अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको नियमित परीक्षणमा धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा स्वास्थ्यका लागि जोखिमपूर्ण मात्रामा विषादी भेटिएको हो।

प्रयोगशालाले परीक्षण गरेका १२ नमुनामध्ये तीनवटामा अर्गानोफोस्फेट र कार्बोमेट समूहका विषादीको रोकावट दर ६४ प्रतिशतभन्दा बढी देखिएको जनाएको छ।

धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत तथा सल्यानबाट आएको आलुको नमुनामा ६६.९९ प्रतिशत विषादी भेटिएको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ। यी सबै मात्रा स्वास्थ्यका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ।

प्रयोगशालाको मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी रोकावट दर भएका तरकारी उपभोगका लागि अयोग्य मानिन्छ र अनिवार्य रूपमा नष्ट गर्नुपर्ने हुन्छ। सोही आधारमा ती तीनै नमुना बजारमा बिक्री वितरण हुन नदिई नष्ट गरिएको कालीमाटी तरकारी बजार समितिले जनाएको छ।

मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारी सुरक्षित मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भएकालाई केही दिन राखेर मात्र प्रयोग गर्न सकिन्छ। तर ४५ प्रतिशतभन्दा माथि पुगेका तरकारी सिधै नष्ट गरिन्छ।

कालीमाटी बजारले शनिबार र आइतबार दैनिक मूल्यसूची सार्वजनिक गरे पनि विषादी परीक्षणको विस्तृत रिपोर्ट भने सार्वजनिक गरेको छैन।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट