मनसुनी वायु सक्रिय: गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ।
आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।
तराई क्षेत्रमा लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले रातिको समयमा वर्षाको गतिविधि थप सक्रिय हुने जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, मधेश र बागमती प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुने देखिएको छ।
भारी वर्षाको जोखिम रहेका क्षेत्रका नदी–नाला आसपास, पहिरो सम्भावित पहाडी भूभाग तथा डुबानको जोखिम भएका तराईका बस्तीमा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया