डेढ करोड बढीको क्रिप्टो कारोबार गर्ने मुकेश प्रजापति पक्राउ
काठमाडौं। नेपाल प्रहरीले रु एक करोड ४८ लाखभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोगमार्फत सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने र उक्त रकमलाई क्रिप्टोकरेन्सीका रूपमा साटेर अवैध कारोबार गर्ने भक्तपुर मध्यपुर थिमी-५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका प्रजापतिले हालसम्म रु एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। सामाजिक सञ्जालमा मानिसहरूलाई प्रलोभन देखाएर रकम सङ्कलन गर्ने र त्यसलाई डिजिटल करेन्सीमा रूपान्तरण गर्ने उनको शैली देखिएको छ।
प्रहरीले खानतलासी र प्राविधिक अनुसन्धानका क्रममा प्रजापतिको विभिन्न डिजिटल खाताहरूमा सात हजार ४८५ अमेरिकी डलर (करिब ११ लाख ४१ हजार ९८३ नेपाली रुपैयाँ) मौज्दात रहेको समेत फेला पारेको छ।
उक्त मौज्दात रकम रोक्का राख्ने प्रक्रिया अघि बढाउँदै प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेको छ। नेपालमा क्रिप्टोकरेन्सीको जुनसुकै माध्यमबाट हुने कारोबार पूर्ण रूपमा गैरकानूनी र दण्डनीय मानिने भएकाले उनीमाथि विदेशी विनिमय अपचलन तथा ठगी कसुर अन्तर्गत थप विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया