सार्वजनिक स्थानमा महिलासामु अशोभनीय व्यवहार गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ
काठमाडौं, सार्वजनिक स्थानमा एक महिलासामु अशोभनीय व्यवहार गरेको आरोपमा प्रहरीले रक्षा मन्त्रालयअन्तर्गत कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्ला बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भएका तथा हाल ललितपुर महानगरपालिका–२, इमाडोल बसोबास गर्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्।
घटनाको भिडियो पीडित महिलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि सातदोबाटो प्रहरी वृत्तको टोलीले अनुसन्धान अघि बढाउँदै भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट रक्षा मन्त्रालयअन्तर्गत सिंहदरबारमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आरोप पुष्टि वा खण्डन हुने विषय अनुसन्धानबाट टुंगो लाग्ने भएकाले यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले उल्लेख गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया