Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

बारम्बार बत्ती जाने समस्या सुल्झाउन मन्त्रालयको सक्रियता, प्राविधिक टोली २४ सै घण्टा ‘अलर्ट’


काठमाडौं । वर्षायामसँगै बढ्दै गएको विद्युत् ट्रिपिङको समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष सुधार अभियान सञ्चालनमा ल्याएको छ। बारम्बार विद्युत् अवरुद्ध हुँदा उपभोक्ताले भोग्नुपरेको सास्ती अन्त्य गर्ने लक्ष्यसहित मन्त्रालयले आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिमा समस्या देखिनेबित्तिकै तत्काल मर्मत तथा सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ। आवश्यक उपकरण र जनशक्तिको व्यवस्थासमेत मिलाइएको सचिवालयले जनाएको छ।सक्रिय मनसुनका कारण हुन सक्ने प्राविधिक अवरोधलाई समयमै पहिचान गरी विद्युत् सेवा नियमित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको मन्त्रालयको भनाइ छ।

उपभोक्ताको गुनासो छिटो सम्बोधन गर्न मन्त्रालयले निःशुल्क हटलाइन सेवासमेत सञ्चालनमा राखेको छ। विद्युत् आपूर्तिसम्बन्धी कुनै पनि समस्या वा गुनासो परेमा उपभोक्ताले ११५० वा ११५१ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन्।

मन्त्रालयका अनुसार हटलाइनमार्फत गुनासो प्राप्त हुनासाथ प्राविधिक टोली सम्बन्धित स्थानमा परिचालन भई समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट