Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

उपत्यकामा अधिकतम भाडा ५० रुपैयाँ (सूचीसहित)


काठमाडौं । बागमती प्रदेश सरकार ले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यका भित्र चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा निर्धारण गरिएको छ । अब ५ किलोमिटरसम्मको भाडा २४ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ र २० किलोमिटरभन्दा माथि अधिकतम ५० रुपैयाँ तोकिएको छ ।

ट्याक्सी सेवातर्फ सुरुवाती शुल्क न्यूनतम ५८ रुपैयाँ कायम गरिएको छ भने प्रत्येक २०० मिटर दूरीमा १२ रुपैयाँका दरले भाडा लाग्नेछ ।

प्रदेशभित्रका लामो दूरीका रुटमध्ये सबैभन्दा बढी भाडा नयाँ बसपार्क–खुर्कोट–मन्थली–तामाकोशी–जिरीसम्मको १ हजार २१८ रुपैयाँ कायम गरिएको छ । यस्तै सबैभन्दा कम भाडा काठमाडौं–कलंकी पेट्रोलपम्प–नागढुङ्गा–दहचोक रुटमा ६० रुपैयाँ तोकिएको छ ।

मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनका लागि भने २०७९ वैशाख १ गतेदेखि लागू भइरहेको पुरानै भाडादर यथावत रहनेछ ।

प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा निर्धारण गर्ने अधिकार प्रदेश सरकारलाई रहेको छ भने अन्तरप्रदेश भाडादर यसअघि नै संघीय सरकारले तोकिसकेको छ ।

इन्धनको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा पनि बढाइएको हो ।

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट