स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत अघिल्लो आर्थिक वर्षको बाँकी दायित्वसमेत गरी कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार यसअघि असोज, कात्तिक र मंसिर महिनासम्म स्वीकृत भएका दाबीहरूको रकम भुक्तानी गरिसकिएको थियो। पछिल्लो चरणमा पुस महिनामा स्वीकृत दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको छ।
यससँगै चालु आर्थिक वर्षको पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीहरूको भुक्तानी प्रक्रिया सम्पन्न भएको बोर्डले जानकारी दिएको छ।बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गरिने दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढाइरहेको उल्लेख गर्दै यसले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया