Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

प्रचण्ड र माधव नेपाललाई मार्गप्रशस्त गर्न झलनाथ खनालको आग्रह


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीभित्र बढ्दो वैचारिक, संगठनात्मक र नेतृत्वगत संकटको चर्चा गर्दै वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । २४ पृष्ठ लामो, ३६ बुँदे पत्रमार्फत खनालले पार्टीलाई वर्तमान संकटबाट निकास दिन नेतृत्व तहले नै आत्मसमीक्षा गर्दै नयाँ पुस्ता र नयाँ नेतृत्वका लागि ठाउँ छाड्नुपर्ने संकेत गरेका छन् ।

विहीबार प्रचण्डलाई बुझाइएको पत्रमा खनालले पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नभएको, नेतृत्वले पक्षपातपूर्ण व्यवहार गरेको तथा पार्टीको वैचारिक दिशा कमजोर बनाइएको बताएका छन् । उनले पार्टीभित्र निराशा, निष्क्रियता र पलायन बढिरहेको उल्लेख गर्दै अहिलेको नेतृत्वले समस्याको समाधान दिन नसकेको निष्कर्ष निकालेका छन् ।

पत्रमा खनालले नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीलाई पनि विधि तोडेको र विभेदपूर्ण व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । नेतृत्व जमिन्दारी बनेको, आफूलाई चित्त नबुझेको सुन्नै नसक्ने, फरक मत राख्ने नेतामाथि कारबाही गर्ने तर पार्टीभित्रका गम्भीर वैचारिक र संगठनात्मक समस्यामाथि छलफल नगर्ने प्रवृत्तिले पार्टीलाई अझ संकटतर्फ धकेलेको उनको संकेत छ ।

खनालले विशेषगरी प्रचण्डमाथि आफूहरूसँग भएका सहमतिहरू उल्लंघन गरेको स्पष्ट पारेका छन् । पार्टी एकताका बेला केन्द्रीय कमिटीको संरचना, जिम्मेवारी बाँडफाँट तथा विभिन्न समूह र नेताहरूको सम्मानजनक व्यवस्थापनबारे भएका सहमतिहरू कार्यान्वयन नभएको उनको दाबी छ । उनले आफू माधव नेपालको पछि लागेर नभई प्रचण्डसँग भएको राजनीतिक सहमतिका आधारमा एकतामा आएको स्मरण गराउँदै ती सहमतिलाई बेवास्ता गरिएको बताएका छन् ।

पत्रको ठूलो हिस्सा वैचारिक बहसमै केन्द्रित छ । खनालले पार्टीको वर्तमान दस्तावेज र राजनीतिक लाइनले वैज्ञानिक समाजवादको लक्ष्यलाई कमजोर बनाएको प्रष्ट्याएका छन् । उनले संसदीय यथास्थितिवादतर्फ झुकाव बढेको र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको लक्ष्य ओझेलमा परेको टिप्पणी गरेका छन् ।

३६औँ तथा अन्तिम बुँदामा खनालले पार्टी विघटनको दिशातर्फ उन्मुख भइरहेको चेतावनी दिएका छन् । उनका अनुसार नेतृत्व जहाँ पुग्छ त्यहाँसमेत कार्यकर्ताको उत्साहजनक उपस्थिति देखिन छाडेको छ । कार्यकर्तामा दिशाहीनता, निराशा, निष्क्रियता र पलायन बढ्दै गएको उल्लेख गर्दै उनले यही अवस्थाले निरन्तरता पाए पार्टीको भविष्य थप संकटग्रस्त बन्ने बताएका छन् ।

पत्रको समग्र सन्देश वर्तमान नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु मात्र होइन, पार्टी पुनर्गठन र रूपान्तरणका लागि शीर्ष नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने आग्रह पनि हो । त्यसैले राजनीतिक वृत्तमा यो पत्रलाई आलोचनात्मक दस्तावेज नभई प्रचण्ड र माधव नेपाल दुवैलाई लक्षित ‘मार्गप्रशस्त प्रस्ताव’ तथा शक्तिशाली ‘लेटर बम’का रूपमा हेरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट