धदिङमा १ अर्ब ५० करोडमा फ्रेन्च फ्राइ उद्योग खुल्दै
काठमाडौं । देशभर आर्थिक सुस्तता, लगानीकर्ताको हिचकिचाहट र अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले अर्थतन्त्र दबाबमा परेको बेला धादिङमा भने ठूलो लगानीसहित आलु प्रशोधन (फ्रेन्च फ्राइ) उद्योग स्थापना हुने भएको छ।
नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माणाधीन उक्त उद्योगले स्थानीय स्तरमा कृषि र उद्योगबीचको सम्बन्धलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। हाल उद्योगका संरचना निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ भने मेसिन जडान र कामदारहरूको सक्रियताले क्षेत्र नै चलायमान देखिएको छ।
उद्योग आसपास रहेका कमेरे, कोइराले, तल्लोबेंसी, ससाह, बिर्ताबेंसी र जलविरेजस्ता उर्वर फाँटहरूमा हालसम्म मुख्यतः धान र मकै खेती हुँदै आएको थियो। हिउँदे बालीका रूपमा आलु उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि बजार अभावका कारण किसानहरू सीमित मात्रामा उत्पादन गर्दै आएका थिए।
अब भने उद्योग स्थापना भएसँगै किसानहरूमा नयाँ उत्साह देखिएको छ। उद्योगले स्थानीय उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएपछि आलुखेतीलाई नगदेबालीका रूपमा विस्तार गर्ने तयारी सुरु भएको छ। साथै, वडा नम्बर ८ को सिफारिसमा कृषकलाई आलु भण्डारणमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ।
उत्तरी धादिङका किसानहरूका लागि समेत यो उद्योग आशाको केन्द्र बनेको छ। यसअघि बजार नपाएर खेर जाने अवस्था रहेको आलुले अब सहज रूपमा बिक्री हुने अपेक्षा गरिएको छ।
स्थानीय कृषक सीताराम कोइरालाका अनुसार, परम्परागत खेतीमा सीमित रहेको क्षेत्र अब नगदेबालीतर्फ उन्मुख हुने देखिएको छ। ‘उत्पादित आलु सिधै उद्योगमा बिक्री गर्न पाइने भएपछि किसानहरू निकै उत्साहित छन्,’ उनले बताए।
यो परियोजनाले कृषि उत्पादन बढाउनुका साथै स्थानीय रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया