यस वर्षको मनसुन कमजोर, वर्षा कम र गर्मी बढी हुने प्रक्षेपण
काठमाडौं । नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।
प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको परिवर्तनका कारण यस वर्ष मनसुन कमजोर हुने आकलन गरिएको हो । यद्यपि नेपालका कुनैकुनै भागमा भने बढी वर्षा हुने अनुमान छ ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरी हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्दछ । बर्खायाम वा मनसुनले बालीनाली तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गर्दछ । साथै बाढीपहिरोका कारण धनजनको क्षति समेत हुने गरेकाले मनसुनप्रति धेरैको चासो हुने गर्दछ ।
त्यसैले दक्षिण एसियाका देशहरूको ऋतुगत मौसम पूर्वानुमान नेपालसमेत सहभागी दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले हरेक वर्ष सार्वजनिक गर्दछ । मञ्चको निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले पनि हरेक वर्ष सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिने गर्दछ । विभागले आगामी शुक्रबार सबै सरोकारवालालाई भेला गरेर यस वर्षको मनसुनी अवस्थाबारे जानकारी दिने कार्यक्रम राखेको छ ।
सास्कोफको प्रतिवेदनमा के छ ?
हालै मालदिभ्सको मालेमा सास्कोफको बैठक बसेको थियो । बैठकमा दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंका गरी नौ देशका मौसमविद्हरू सहभागी थिए ।
सो बैठकले यस वर्षको मनसुन अवधिको मे–सेप्टेम्बर महिनामा दक्षिण एसियाको उत्तर–पश्चिमी, उत्तर–पूर्वी र दक्षिणी क्षेत्रका केही भागहरूमा सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा लेखिएअनुसार मध्य क्षेत्रमा भने कम वर्षा हुने छ ।
नेपालका पूर्वी भागहरू ‘सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने’ भनिएको उत्तर–पूर्वी क्षेत्र नजिक पर्दछन् । तर ठूलो हिस्सा भने ‘कम वर्षा’ हुने भनिएको मध्य क्षेत्रमा पर्दछ । त्यसैले नेपालका कुनै–कुनै ठाउँमा धेरै वर्षा भए पनि समग्रमा कम वर्षा हुने अनुमान गरिएको हो ।
आगामी जेठ १५ देखि साउन १५ ९जुन र जुलाई० सम्मको समय सुक्खा हुने सम्भावना छ ।मनसुनको यो अनिश्चितताले देशको कृषि र जलविद्युत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । मनसुनको पहिलो आधा समय सुख्खा हुँदा यो वर्ष ३० देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सक्ने मौसमविद पोखरेलको अनुमान छ ।
मनसुन कमजोर हुनुका कारण
मौसमविद्हरूका अनुसार यो वर्ष मनसुन कमजोर हुनुमा मुख्य दुईवटा मौसमी प्रणालीहरू जिम्मेवार देखिएका छन्– ‘एल निनो’को प्रभाव र हिन्द महासागरको अवस्था ‘आईओडी’ ।
प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ । यसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउँछ । यद्यपि अहिले यो अवस्था तटस्थ बन्दै गएको देखिएको छ । तर यसको बाँकी प्रभाव र वायुमण्डलमा आएको फेरबदलका कारण जुन र जुलाईमा बादल निर्माण हुने प्रक्रिया सुस्त हुन सक्ने अनुमान छ ।
यसैगरी नेपालको मनसुनमा हिन्द महासागरको तापक्रम ९इन्डियन ओसन डाइपोल–आईओडी० को ठूलो भूमिका हुन्छ । विभिन्न अन्तर्राष्ट्रिय मोडेलहरूका अनुसार यो वर्ष जुन–जुलाईको समयमा हिन्द महासागरको अवस्था मनसुनका लागि त्यति अनुकूल नहुने देखिएको छ । यसले गर्दा जलवाष्पयुक्त हावा नेपालसम्म आइपुग्न अवरोध सिर्जना गर्नसक्ने अनुमान छ ।
नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिने कृषि ७५ देखि ९० प्रतिशत मनसुनी वर्षामा निर्भर रहन्छ । वर्षा कम हुँदा धान खेती र अन्य वर्षे बाली प्रभावित भई खाद्य असुरक्षा बढ्न सक्ने जोखिम छ ।
क्याटेगोरी : समाचार









प्रतिक्रिया