धुर्मुस–सुन्तली फाउन्डेसनसँग जोडिएको कर्जा फिर्ता गर्न सहकारी सदस्यहरूको आग्रह
काठमाडौं । एक सहकारी संस्थाका सदस्य तथा ऋण असुली टोलीले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कृष्ण घिमिरेसँग सम्बन्धित कर्जा समयमै फिर्ता गर्न सार्वजनिक अपिल गरेका छन्।
समितिद्वारा जारी सूचनामा कृष्ण घिमिरे संस्थाका ऋणी सदस्य रहेको उल्लेख गरिएको छ। उनी धुर्मुस–सुन्तली फाउन्डेसन सँग आबद्ध रहेको र चितवनको रामपुरमा निर्माण सुरु गरिएको रङ्गशाला परियोजनाका क्रममा आर्थिक अभाव भएपछि छोटो अवधिका लागि कर्जा लिइएको दाबी गरिएको छ।
सूचनाअनुसार कोभिड महामारी तथा अन्य कारणले रङ्गशाला निर्माण प्रभावित भएपछि आर्थिक संकट उत्पन्न भएको थियो। त्यसक्रममा दैनिक टिकट बिक्री तथा सहयोग रकमबाट कर्जा चुक्ता गर्ने सर्तमा कृष्ण घिमिरेको नाममा ऋण प्रवाह गरिएको बताइएको छ।
सदस्य समन्वय समितिले हालसम्म करिब ७० लाख रुपैयाँ बराबरको कर्जा बाँकी रहेको जनाएको छ। समितिले पटक–पटक सम्पर्क गर्दा “फाउन्डेसनले तिर्छ” वा “महानगरले तिर्छ” भन्ने जवाफ आउने गरेको उल्लेख गरेको छ।
अपिलमा सहकारीका बचतकर्ताहरू लामो समयदेखि रकम फिर्ता नपाएर समस्यामा परेको जनाइएको छ। “सहकारीको रकम रङ्गशालामा लगानी भएर डुब्यो” भन्ने भ्रमसमेत फैलिएको भन्दै समितिले यसले संस्थाप्रति अविश्वास बढाएको उल्लेख गरेको छ।
समितिले कलाकार धुर्मुसलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कर्जा फर्छ्योट गर्न आग्रह गरेको छ। साथै कृष्ण घिमिरेलाई समयमै ऋण भुक्तानी गर्न चेतावनी दिँदै अन्यथा कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
समितिले सदस्यहरूलाई संयमित रूपमा सामाजिक दबाब सिर्जना गर्न आग्रह गर्दै गालीगलौज र अपमानजनक टिप्पणी नगर्न अनुरोध गरेको छ।
“हाम्रो उद्देश्य ऋण असुली गर्नु हो, गाली गर्नु होइन,” सूचनामा उल्लेख छ। साथै, सहकारी क्षेत्र आर्थिक संकट, अस्थिर राजनीतिक अवस्था तथा विगतका कमजोर लगानीका कारण प्रभावित भएको उल्लेख गर्दै बचतकर्ताको रकम फिर्ताका लागि पहल जारी रहने समितिले जनाएको छ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया