Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

मध्यपूर्व युद्धले एशियामा विद्युतीय गाडीको माग बढायो


काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य तीव्र रूपमा बढेपछि एशियाली देशहरूमा विद्युतीय सवारीसाधनको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा निर्भर राष्ट्रहरूमा आपूर्ति घट्नु र विकल्पको अभाव हुनुका कारण उपभोक्ताहरू सस्तो र दीर्घकालीन विकल्पतर्फ आकर्षित भएका छन् ।

दक्षिण–पूर्वी एशियाका देशहरूमा विशेष गरी विद्युतीय गाडीको बिक्री ह्वात्तै बढेको छ । भियतनाममा विद्युतीय सवारी निर्माता विनफास्टले वार्षिक बिक्रीमा १२७ प्रतिशत वृद्धि गरेको जनाएको छ । मार्च महिनामा मात्र कम्पनीले २७ हजार ६ सय गाडी बिक्री गरेको छ । शोरुमहरूमा ग्राहकको भीड बढेसँगै बिक्री समयसमेत लम्ब्याइएको छ ।

इन्धनको मूल्य करिब ५० प्रतिशतले बढेर प्रति ब्यारेल १०० डलर नाघेपछि उपभोक्ताहरूले खर्च घटाउने उपाय खोजिरहेका छन् । दैनिक प्रयोगका लागि गाडी चलाउनेहरूले विद्युतीय सवारीलाई बढी किफायती विकल्पका रूपमा हेर्न थालेका छन् । पेट्रोल हाल्न लाइन बस्नुपर्ने झन्झट र महँगो खर्चबाट बच्न पनि मानिसहरू विद्युतीय गाडीतर्फ आकर्षित भएका हुन् ।

थाइल्याण्ड, फिलिपिन्सलगायत देशहरूमा पनि चिनियाँ कम्पनीहरूको विद्युतीय गाडीको बिक्री तीव्र रूपमा बढिरहेको छ । विशेष गरी बीवाइडीले अटो शोहरूमा अग्रस्थान हासिल गर्दै जापानी कम्पनीहरूलाई समेत पछि पार्न थालेको छ ।

ऊर्जा संकटसँगै चार्जिङ पूर्वाधार विस्तार र सरकारी नीतिगत सहयोगले पनि विद्युतीय सवारीको माग बढाउन भूमिका खेलेको विश्लेषकहरू बताउँछन् । यसले दीर्घकालीन रूपमा एशियामा सवारी क्षेत्रको संरचनात्मक परिवर्तनलाई गति दिने संकेत देखिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट