Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

चार नयाँ गन्तव्यमा पुनः श्रम स्वीकृति खुला


काठमाडौं । वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका चार देशमा पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । विभागका अनुसार अब इजरायल, कुवेत, बहराइन र लेबनन जान चाहने कामदारका लागि श्रम स्वीकृति पुनः खुला गरिएको हो ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को गत फागुन १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की का लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो । अहिले थप चार देश समेटिएसँगै वैदेशिक रोजगारीका लागि गन्तव्य देशको दायरा विस्तार भएको विभागले जनाएको छ ।

त्यसैगरी इराक सम्बन्धी श्रम स्वीकृतिको विषय भने मन्त्रिपरिषद्को गत पुस ११ गतेको निर्णयअनुसार नै अघि बढाइने भएको छ । मन्त्रालयले चैत ३० गते गरेको निर्णयअनुसार इराक जाने कामदारका हकमा सोही प्रावधान लागू हुने बताइएको छ ।

विभागले पुनः श्रम स्वीकृति खुला गरिएसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई सहज हुने विश्वास व्यक्त गरेको छ । साथै, श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउँदै कामदारको सुरक्षा र अधिकारलाई प्राथमिकता दिइने जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट