Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कहाँ छन् फरार सुन तस्कर दावा छिरिङ ?


काठमाडौं । ६० किलो सुन प्रकरणमा जोडिएका दावा छिरिङ लामो समयदेखि फरार रहेका छन् । भदौ २४ मा जेनजी विद्रोह हुँँदा छिरिङ नख्खु कारागारबाट बेपत्ता भएका थिए । उनीसँगै १० जना चिनियाँ तस्कर फरार भएका थिए । जेल तोडेर भागेको लामो समय हुँदा पनि प्रहरीले उनीलाई पक्राउ गर्ने सकेको छैन् । छिरिङ नेपालमै लुकेका छन् वा विदेश भागे त्यसको पनि कुनै अत्तोपत्तो छैन् ।

एक गृह अधिकारिका अनसार दावाको खोजी कार्य जारी रहे पनि हालसम्म उनी फेला पर्न सकेका छैनन् । चिनियाँ गिरोहले मोटरसाइकल ब्रेक सुको स्वरुपमा ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा बरामद गरेको थियो ।

अनुसन्धानको क्रममा टोखामा सुन पगाल्ने कारखाना समेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्न मेसिन बरामद भयो । २०८० साउन १३ मा चिनियाँ मुलका बेल्जियम नागरिक छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापक थिए । दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठाएको थियो । एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनुसन्धान गनुपर्ने भन्दै २०८० साउन २० मा सीआईबीले अनुसन्धानको जिम्मा पाएको थियो ।

अनुसन्धानपछि सीआईबीले २०८० भदौ २७ मा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार रुपैयाँ बिगो कायम गर्दै २९ जनाविरुद्ध मुद्वा दायर गरेको थियो । दावा छिरिङ चिनियाँ मूलका बेल्जियन नागरिक हुन । राजनीतिक र प्रशासनिक संरक्षणमा दावाले काभ्रेबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए। दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएको र त्यसमा भने उनको नाम निमा तामाङ राखिएको थियो । दावाले रोल्पा थवाङकी अमला रोकासँग सम्बन्ध अघि बढाएसँगै माओवादी नेताहरूसँग सम्बन्ध बढाएर अपराध कर्ममा संलग्न रहेका थिए ।

२०७४ साल अघिसम्म माओवादी केन्द्रको रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी उपाध्यक्ष रहँदा रोल्पाको थवाङकी अमला रोका व्यापार गर्ने क्रममा दावासँग नजिकिएकी थिइन् । अमला तत्कालीन माओवादी केन्द्रका नेता, नन्दकिशोर पुन, वर्षमान पुन निकट थिइन । अमला र वर्षमान पुनका भाइ प्रनिस पुन व्यापारिक साझेदार पनि थिए ।

शक्तिशाली व्यक्तिसँगको हिमचिमका कारण दावालाई आपराधिक काम गर्न सजिलो हुँदै आएको थियो । फाट्टफुट्ट जडीबुटी व्यापार गर्ने क्रममा ठमेलको व्यापारिक वृत्तमा अमलाको चिनजान दावासँग भएको थियो । अमलासँग निकटता बढेसँगै दावा माओवादी केन्द्रका नेताहरूको सम्पर्कमा पुगेको थिए । २०७९ साउन ११ गते पनि प्रहरीले भियनामा होटेलमा छापा मारेको थियो । ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, चार सय ७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरे पनि उनी भने त्यतिबेला उम्किएका थिए । त्यतिबेला नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने कार्य र ‘लोन’ ९ऋण० एपमार्फत अवैध असुली गरेको भन्दै प्रहरीले चिनियाँ गिरोहका संलग्नलाई पक्राउ गरेको थियो । दावाको अपराध भने २०७६ सालमै खुलेको थियो तर पक्राउ पर्न सकेका थिएनन् ।

प्रहरीले काठमाडौँबाट एक सय २२ चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनीमार्फत सुरक्षा निकायले सूचना चुहिएपछि अन्य चिनियाँ फरार रहेको आरोप लागेको थियो । उनी त्यतिबेला पनि नेपाल छाडेर भागेका थिए । त्यतिबेला पनि माओवादी केन्द्रका नेताहरूसँगको राजनीतिक कनेक्सन देखिएपछि अनुसन्धान अघि नबढी टुङ्गिएको थियो । उनी पक्राउ पर्दा माओवादी केन्द्रका नेताहरूको कनेक्सन देखिए अनुसन्धान अघि बढ्ला कि नबढ्ला भन्ने आशङ्का बढेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट