Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

निजगढकी युवतीको मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शव काठमाडौँ पठाइयो


काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइएको छ ।

वैशाख २५ मा निजगढ–१२ बस्ने २५ वर्षीया सीता थिङ होटलभित्र घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पठाएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनको शव पोस्टमार्टमका लागि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतक थिङसँगै १८ वर्षीया अनु सुनार, जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीमा बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन होटलमा सँगै गएका थिए । महेश माझी र सीता थिङ एउटा कोठामा बसेका थिए । प्रहरीले मृतकसँगै गएका ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू विरुद्ध इलाका प्रहरी कार्यालय निजगढले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । मृतकसँगै बसेका माझीले शौचालयमा गएर थिङ झुण्डिएपछि उद्धार गरेको जिकिर गरेका छन् । मृतकको घाँटीमा मार्क देखिएको छ । अर्को कोठामा बसेका अनु सुनार र सुनिल बोम्जनले पनि झुन्डिएको अवस्थामा आफूहरूले उद्धार गरेको प्रहरीलाई बताएका छन् ।

माझीको दाहिने गालामा चोट देखिएको हुनाले झगडा हुँदा हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

आरोपी मध्येका बोम्जनलाई प्रहरीले घटना भएको बिहान १ बजे टाङ्गिया बस्ती नजिकैको जंगलबाट पक्राउ गरेको थियो । महेश माझीलाई बिहान ४ बजेतिर निजगढ नगरपालिका–७ बाट पक्राउ गरिएको जनाइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट