नेपालबाट भारततर्फ निर्यात हुने चियाको अवरोध हट्यो
काठमाडौं । विगत तीन सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षण (कम्पल्सरी स्याम्पलिङ) को व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको हो ।
भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना (कोरिजेन्डम–२) जारी गरेपछि नेपाली चिया व्यवसायीहरूले राहत महसुस गरेका छन् ।
भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र चिया बोर्डका अधिकारीहरूबीच भएको संयुक्त बैठकको निर्णयअनुसार जारी गरिएको यस नयाँ व्यवस्थासँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात बुधबारदेखि पूर्ववत् रूपमै सञ्चालन हुने बाटो खुलेको हो ।
टी बोर्डले जारी गरेको संशोधित मापदण्डअनुसार अब भारतको आन्तरिक बजारमा खपत हुने र त्यहाँबाट तेस्रो मुलुकमा पुनः निर्यात (रि–एक्सपोर्ट) हुने चियाका लागि छुट्टाछुट्टै परीक्षण नियमहरू लागु हुनेछन्।
एफएसएसएआईबाट अर्को औपचारिक स्पष्टीकरण वा निर्देशन नआएसम्मका लागि आन्तरिक खपतका लागि जाने चियामा टी बोर्डले कुनै परीक्षण गर्ने छैन ।
यद्यपि, भन्सार कार्यालय वा एफएसएसएआईले एकल निकायको रूपमा आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार छड्के (र्यान्डम) नमुना मात्र संकलन गरी जाँच गर्न सक्नेछन् ।
यसको सीधा अर्थ हो, अब नेपालबाट भारतको आन्तरिक बजारका लागि जाने चिया बोकेका प्रत्येक ट्रकको नाकामा रोकेर अनिवार्य जाँच गरिरहनु पर्ने बाध्यता हटेको छ ।
तर, नेपालबाट चिया खरिद गरी आकर्षक प्याकेजिङ र ब्रान्डिङसहित तेस्रो मुलुकमा निर्यात गर्ने भारतीय व्यवसायीहरूको हकमा भने नियम कडा नै राखिएको छ ।
भारतमा आयात भएर पुनः निर्यात हुने चियाको कन्साइनमेन्टमा भने बोर्डको १० फेब्रुअरी २०२६ को स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) अनुसार गुणस्तर सुनिश्चित गर्न अनिवार्य रूपमै परीक्षण गरिने सूचनामा स्पष्ट पारिएको छ ।
यसका अतिरिक्त, टी बोर्डले चिया परीक्षणको नतिजा आउने समयसीमामा पनि कटौती गरेर व्यापार सहजीकरण गरेको छ । यसअघि ल्याबबाट परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिनसम्म लाग्ने गरेकोमा अब सम्बन्धित प्रयोगशालाले चियाको नमुना प्राप्त गरेको मितिले ५ दिनभित्रै परीक्षण प्रतिवेदन अनिवार्य रूपमा अनलाइन अपलोड गरिसक्नु पर्नेछ ।
भारतको यो पछिल्लो लचकताले नेपाली चिया उद्योगमा उत्साह थपेको छ । भारतले १८ वैशाखदेखी लागु हुने गरी भारत आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गर्दै ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ (भारु) शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान जारी गरेको थियो ।
यसपछि नेपालबाट भारतमा हुने चिया निर्यात ठप्प बनेको थियो । नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरेको थियो । करिब तीन सातापछि मात्रै भारतले सहजीकरण गरेको हो ।
भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालको अर्थतन्त्रमा चिया निर्यातको हिस्सा निकै महत्त्वपूर्ण छ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट ३ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बराबरको चिया भारत निकासी भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३३ करोड ५९ लाख रुपैयाँ बराबरको निर्यात भइसकेको छ । व्यवसायीहरूले अब पहिलेजस्तै चिया निर्यात हुनेछ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया