Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

गोलाप्रथामा नपरेकाले इजरायल जान नयाँ आवेदन कुर्नुपर्ने


काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन दिएका तर गोलाप्रथा (लक्की ड्र) मा छनोट हुन नसकेका नेपाली श्रमिकहरूले अब नयाँ विज्ञापन पर्खिनुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायली निकाय ‘पीबा’ले हालको प्रक्रियाबाट ‘लट्री आउट’ भएका उम्मेदवारलाई थप समावेश गर्न नसकिने स्पष्ट जानकारी दिएको जनाएको छ ।

मन्त्रालयका अनुसार इजरायल पक्षले विशेष व्यवस्था गरेर हाल प्रक्रियाबाहिर रहेका उम्मेदवारलाई लैजान असम्भव रहेको बताएको छ । त्यसपछि मन्त्रालयले आगामी दिनमा खुल्ने नयाँ विज्ञापनमा पुनः आवेदन दिन सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा हालको छनोट प्रक्रियामा परेका उम्मेदवारबाहेक अन्यलाई समावेश गर्न नसकिने उल्लेख गरिएको छ । यद्यपि आगामी विज्ञापनमा उनीहरूले फेरि प्रतिस्पर्धा गर्न सक्ने जनाइएको छ ।

वैदेशिक रोजगार विभागले २०८१ असार ११ गते प्रकाशित गरेको विज्ञापनअनुसार २ हजार १ सय १२ जना श्रमिक लक्की ड्रमार्फत छनोट भएका थिए । तीमध्ये अधिकांश इजरायल पुगिसकेका छन् भने बाँकीको प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

यता, लक्की ड्रमा छनोट हुन नसकेका १ सय ५३ जना उम्मेदवारले आफूहरूलाई पनि इजरायल पठाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरूले वैदेशिक रोजगार विभाग घेराउ गर्नुका साथै माइतीघरमा धर्ना समेत दिएका थिए । उनीहरूको मागपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत इजरायल सरकारसँग समन्वय गरेको थियो ।

तर इजरायलले विद्यमान प्रक्रिया परिवर्तन गर्न नसकिने जवाफ दिएको मन्त्रालयको भनाइ छ । इजरायल पक्षले भविष्यमा खुल्ने नयाँ आवेदन प्रक्रियामा सहभागी हुन सुझाव दिएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका उम्मेदवारका विषयमा पनि मन्त्रालयले धारणा सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार रोष्टरको म्याद थपलगायत विषयमा कोरिया सरकारसँग आवश्यक पहल भइरहेको छ ।

नेपाल–दक्षिण कोरियाबीच भएको श्रम समझदारी तथा ईपीएस प्रणालीअनुसार नै सम्पूर्ण प्रक्रिया सञ्चालन हुने भएकाले अनावश्यक दबाब नदिन मन्त्रालयले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट