Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

करेन्ट लगाएर गैँडा हत्या गरिएको पुष्टि, पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान जारी


काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ स्याउली टोलमा मृत भेटिएको दुर्लभ एकसिंगे गैँडालाई विद्युतीय धरापमा पारेर मारिएको पुष्टि भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले गरेको पोस्टमार्टम रिपोर्टले करेन्ट लगाएर गैँडा मारिएको देखाएको हो ।

जेठ १ गते मकैबारीभित्र करिब २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको थियो । गैँडाको नाकबाट रगत बगेको, शरीरको पछाडितर्फ चिरा परेको घाउ देखिएको भए पनि खाग र चारवटै खुर भने सुरक्षित अवस्थामा भेटिएका थिए ।

पोस्टमार्टमका क्रममा कलेजो, फोक्सो, मिर्गौला, मुटु तथा आमाशयको नमूना परीक्षण गरिएको थियो । रिपोर्टअनुसार फोक्सो र कलेजोमा रगत जमेको तथा मुटुको कोठामा नजमेको कालो रगत भेटिएको उल्लेख छ । मुटुबाट जलेको जस्तो गन्ध आएको विवरणले गैँडा विद्युतीय धरापमा परेको संकेत गरेको निकुञ्जले जनाएको छ ।

घटनास्थल नजिकै डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले विद्युतीय धरापमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ । मृत गैँडा भेटिएको स्थानदेखि करिब २०० मिटर दक्षिण लोकाहा खोलाको काँसघारीमा जीआई तारले बेरिएका २७ वटा बाँसका किल्ला फेला परेका थिए । साथै नजिकैको घरबाट सिंगल फेज रिङसहित करिब १३ मिटर वायरिङ तार पनि बरामद गरिएको थियो ।

घटनासँग सम्बन्धित आरोपमा पक्राउ परेका भीम प्रसाद दर्जीमाथि अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ । अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अधिकृतमार्फत थप सोधपुछ भइरहेको छ ।

नेपालको कानुनअनुसार दुर्लभ एकसिंगे गैँडा मार्ने, यसको अंग किनबेच वा ओसारपसार गर्ने व्यक्तिलाई १५ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म निकुञ्ज तथा आसपास क्षेत्रमा विभिन्न कारणले २० वटा गैँडाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट