प्रेस सेन्टरप्रति असन्तुष्टि जनाउँदै टेनिस रोकाको राजीनामा
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले प्रेस सेन्टर नेपालबाट राजीनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी संगठनबाट बाहिरिने निर्णय गरेका हुन् ।
रोकाले प्रेस सेन्टरमा गैरपत्रकारहरूको नेतृत्व हावी हुँदै गएको आरोप लगाएका छन् । उनका अनुसार पत्रकारिता पेशामा सक्रिय रूपमा संलग्न नभएका व्यक्तिहरूले संगठनको नेतृत्व सम्हाल्दा वास्तविक पत्रकारहरूको भूमिका कमजोर बन्दै गएको छ । यही अवस्थाले संगठनभित्र सक्रिय पत्रकारहरू बसिरहनु उपयुक्त नभएको निष्कर्षमा आफू पुगेको उनले बताएका छन् ।
उनले प्रेस सेन्टरका अध्यक्ष कमल गिरी विज्ञापन व्यवसायसँग सम्बन्धित रहेको र महासचिव मनोज घर्तीलगायतका पदाधिकारीहरू लामो समयदेखि पत्रकारितामा सक्रिय छैनन् । यस्तो परिस्थितिमा पत्रकारिताको मर्म र पेशागत मान्यताअनुसार संगठन अघि बढ्न सकेको छैन ।
रोकाले आफूले संगठन त्यागे पनि पत्रकारिताबाट भने अलग नहुने स्पष्ट पारेका छन् । उनले निष्पक्ष, जिम्मेवार र सक्रिय पत्रकारितामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको राजीनामालाई प्रेस सेण्टरको बढ्दो असन्तुष्टिको संकेतका रूपमा पनि हेरिएको छ । पेशागत संगठनहरूमा वास्तविक पत्रकारहरूको सहभागिता, पारदर्शिता र पेशागत उत्तरदायित्वको विषयमा पछिल्लो समय बहस तीव्र बन्दै गइरहेका बेला रोकाको निर्णयले थप चर्चा सिर्जना गरेको छ ।
यस घटनाले प्रेस सेन्टर नेपालको आन्तरिक अवस्था र नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको छ । साथै, संगठनहरूमा पेशागत योग्यता र सक्रियताको मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया