गोल्डेन बुटको दौडमा हालान्ड, मेसी र एम्बाप्पेबीच टक्कर
काठमाडौं । फिफा विश्वकप २०२६ मा डेब्यु गरिरहेका नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विस्फोटक प्रदर्शनलाई निरन्तरता दिँदै विश्व फुटबलमा नयाँ इतिहास रचिरहेका छन्। उनकै प्रेरणादायी खेलको बलमा २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे पहिलो पटक प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
सोमबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको अन्तिम–१६ को प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै अन्तिम आठमा स्थान बनाएको हो। नर्वेको ऐतिहासिक जितमा दुवै गोल हालान्डले गरे।
नर्वेका लागि यो चौथो विश्वकप सहभागिता हो। यसअघि कहिल्यै क्वार्टरफाइनल पुग्न नसकेको टोलीले यसपटक नयाँ इतिहास बनाएको छ। उता, ब्राजिल भने सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम–१६ बाटै बाहिरिएको छ।
निर्णायक बने हालान्ड
खेलको पहिलो हाफमा ब्राजिलसँग अग्रता लिने उत्कृष्ट अवसर थियो। ब्रुनो गुइमारेसले पाएको पेनाल्टीलाई नर्वेका गोलरक्षक ओर्यान निल्यान्डले शानदार बचाउ गरेपछि खेल गोलरहित बराबरीमा रह्यो।
दोस्रो हाफको अन्तिम चरण भने पूर्ण रूपमा हालान्डको नाममा रह्यो। उनले ७९औँ मिनेटमा आकर्षक हेडमार्फत नर्वेलाई अग्रता दिलाए। त्यसपछि ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
इन्जुरी समयको अन्तिम मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्।
गोल्डेन बुटको प्रतिस्पर्धा थप रोचक
ब्राजिलविरुद्धको दुई गोलसँगै हालान्डले जारी विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएका छन्। उनी फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा पुगेका छन्।
हालको अवस्थामा एम्बाप्पेले पाँच खेलमा ७ गोल र २ असिस्ट गरेका छन्। मेसीले चार खेलमै ७ गोल गरेका छन् भने हालान्डको नाममा पनि ७ गोल पुगेको छ। मेसी र हालान्ड दुवैको खातामा अहिलेसम्म असिस्ट भने छैन।
यस्तै, इङ्गल्यान्डका ह्यारी केन ५ गोलसहित त्यसपछिको स्थानमा छन्। फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सारले समान ४–४ गोल गरेका छन्।
चार खेल, सात गोल
नर्वेले विश्वकपमा हालसम्म पाँच खेल खेल्दा चारमा जित निकालेको छ। टोलीको एकमात्र हार समूह चरणमा फ्रान्सविरुद्ध भएको थियो। उक्त खेलमा भने हालान्डलाई विश्राम दिइएको थियो।
हालान्ड मैदान उत्रिएका चारै खेलमा गोल गर्न सफल भएका छन्। उनले समूह चरणमा इराक र सेनेगलविरुद्ध समान दुई–दुई गोल गरेका थिए भने राउन्ड अफ ३२ मा आइभोरी कोस्टविरुद्ध एक गोल गरेका थिए। ब्राजिलविरुद्ध दुई गोल थपेपछि उनको कुल गोल संख्या सात पुगेको हो।
अन्तर्राष्ट्रिय फुटबलमा अद्भुत कीर्तिमान
हालान्डको अन्तर्राष्ट्रिय गोल गर्ने गति पनि असाधारण छ। उनले नर्वेका लागि ५४ अन्तर्राष्ट्रिय खेल खेल्दै ६२ गोल गरिसकेका छन्, जुन सक्रिय खेलाडीमध्ये उत्कृष्ट गोल अनुपातमध्ये एक मानिन्छ।
पछिल्ला १४ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा मात्रै उनले २७ गोल गरेका छन्। क्लब फुटबलमा म्यानचेस्टर सिटीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका हालान्डले राष्ट्रिय टोलीमा पनि त्यही लय कायम राख्दै विश्व फुटबलका सबैभन्दा घातक फरवार्डका रूपमा आफ्नो छवि अझ बलियो बनाएका छन्।
अब क्वार्टरफाइनलमा नयाँ चुनौती
ब्राजिललाई हराएर उच्च मनोबलमा रहेको नर्वेले अब जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा सह–आयोजक मेक्सिको र इङ्गल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हालान्डको उत्कृष्ट लय कायम रहे नर्वेको ऐतिहासिक यात्रा अझ लामो हुन सक्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया