Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

एनपीएलको तेस्रो संस्करणका लागि आज खेलाडी अक्सन, ५२ खेलाडी विभिन्न टोलीमा अनुबन्ध हुँदै


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने अक्सनमार्फत सहभागी फ्रेन्चाइज टोलीहरूले आफ्नो टोलीलाई थप मजबुत बनाउन नयाँ नेपाली खेलाडी छनोट गर्नेछन्।

क्यानका अनुसार यस वर्ष प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत दुई जना नेपाली खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ। यसका लागि देशभरबाट ३४७ खेलाडीले आवेदन दिएका थिए। प्रारम्भिक छनोट प्रक्रिया पूरा गरेपछि १५५ खेलाडीलाई अन्तिम अक्सन सूचीमा समावेश गरिएको छ।अन्तिम सूचीमा परेका खेलाडीमध्ये ५२ जनाले विभिन्न फ्रेन्चाइज टोलीबाट खेल्ने अवसर प्राप्त गर्नेछन्। खेलाडीको अनुभव, प्रदर्शन र स्तरका आधारमा क्यानले उनीहरूलाई तीन श्रेणीमा विभाजन गरेको छ।

क्यानका अनुसार ‘ए’ श्रेणीमा ५ जना, ‘बी’ श्रेणीमा २७ जना र ‘सी’ श्रेणीमा १२३ जना खेलाडी रहेका छन्। फ्रेन्चाइज टोलीहरूले यही वर्गीकरणका आधारमा आवश्यकताअनुसार खेलाडी छनोट गर्नेछन्।

एनपीएलले छोटो समयमै नेपाली क्रिकेटमा लोकप्रियता हासिल गरेको छ। प्रतियोगिताको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो भने दोस्रो संस्करणको ट्रफी लुम्बिनी लायन्सले आफ्नो नाममा लेखाएको थियो।

आजको अक्सनसँगै तेस्रो संस्करणका टोलीहरूको प्रारम्भिक संरचना थप स्पष्ट हुने अपेक्षा गरिएको छ। नयाँ प्रतिभाले अवसर पाउने र टोलीहरूबीच प्रतिस्पर्धा अझ सशक्त बन्ने विश्वास क्यानले गरेको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट