Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

ललितपुरको इमाडोलमा सार्वजनिक रूपमा अश्लील व्यवहार गर्ने कर्मचारी पक्राउ


काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीमाथि अश्लील व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

आइतबार साँझ करिब ६:३० बजे इमाडोलको गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई लक्षित गर्दै एक पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेको आरोप लागेको हो। उक्त घटना युवतीले मोबाइल फोनमा भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेपछि बाहिर आएको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति बैतडी घर भएका सुरेन्द्र भट्ट हुन्। उनी शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको छ।

पीडित युवतीका अनुसार गल्लीमा एक्लै देखेपछि आरोपितले कपडा खोलेर अश्लील व्यवहार गरेका थिए। त्यसपछि उनले हिम्मत जुटाएर भिडियो खिच्दै आरोपितलाई पछ्याएकी थिइन् र नियन्त्रणमा लिन आग्रह गरेकी थिइन्। पछि घटनास्थलमा पुगेका एक व्यक्तिको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको थियो।

सो घटनापछि पीडितले प्रहरी प्रभाग इमाडोलमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दै सीसीटीभी फुटेज संकलन गरी घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट