नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ गोलअन्तरले पराजित भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। हारसँगै ब्राजिलका अनुभवी फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
आइतबार अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्राजिल नर्वेसँग पराजित हुँदै सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम–१६ बाटै बाहिरिएको हो।खेल सकिएलगत्तै भावुक बनेका ३४ वर्षीय नेयमार मैदानमै आँसु झार्दै देखिएका थिए। सहकर्मी खेलाडीहरूले उनलाई सम्हालेका थिए।
नर्वेको ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने। उनले ७९औँ र ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याए। इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन।खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेयमारले आफ्नो अन्तर्राष्ट्रिय यात्रा यहीँ टुंगिएको बताए।
“मैले सक्दो प्रयास गरेँ। धेरै संघर्ष गरेँ। तर अब मेरो अन्तर्राष्ट्रिय यात्रा समाप्त भएको छ,” उनले भने।
संयोगवश, नेयमारले सन् २०१० को अगस्टमा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि डेब्यु गर्दै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। १६ वर्षपछि उनले सोही मैदानबाट राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा पनि समाप्त गरेका छन्।चोटका कारण पछिल्ला केही वर्ष कठिन बने पनि नेयमारले ब्राजिलका लागि १३० अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै आफ्नो करिअर टुंग्याएका छन्। उनले ७७ गोल गरेका महान् पेलेलाई पछि पार्दै ब्राजिलका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्न सफल भएका थिए।
नर्वेविरुद्धको गोलसँगै नेयमार चार फरक विश्वकपमा गोल गर्ने पेलेपछि दोस्रो ब्राजिलियन पुरुष खेलाडी बने। यस्तै, १४२ खेल खेलेका काफुपछि उनी ब्राजिलका लागि दोस्रो सर्वाधिक खेल खेल्ने खेलाडीका रूपमा पनि आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त गरेका छन्।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले हारप्रति गहिरो निराशा व्यक्त गर्दै टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उनले यो हारबाट पाठ सिक्दै नयाँ योजनाका साथ टोली पुनर्निर्माण गरिने बताए।यता, ब्राजिललाई पराजित गर्दै इतिहास रचेको नर्वेले अब जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा इङ्गल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सात गोलसहित उत्कृष्ट लयमा रहेका हालान्ड प्रतियोगिताको गोल्डेन बुट दौडका प्रमुख दाबेदारमध्ये एक बनेका छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया